नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास गरेको र विभिन्न व्यक्तिबाट धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले प्रेस विज्ञप्ति जारी गर्दै यस प्रकारको व्यवहारको निन्दा गरेको हो ।
केही दिनअघि जनआस्था साप्ताहिक र ‘जनआस्था डटकम’ मा मन्त्री र सत्ताधारी दलका नेताको बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठले यस प्रकारको व्यवहार झेल्नुपरेको महासंघ काठमाडौं शाखाले जनाएको छ । ।
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी लिइरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाब दिनेजस्ता गतिविधि बढिरहेको जानकारी महासंघलाई गराएको छ । ।
समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको बुझाइ छ । महासंघले प्रेस विरोधी व्यवहार सच्याउन र समाचारप्रति विमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सम्बद्ध पक्षसँग माग गरे ।
साथै, पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न महासंघले जोडदार माग गरेको छ । विज्ञप्तिमा महासंघका महासचिव रामप्रसाद दाहालले हस्ताक्षर गरेका छन् ।







