बालेनप्रति सांसद दर्शनाको फरक मतः -‘उनीहरु मान्छेमात्रै हुन्’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को देवत्वकरण भएकोमा फरक मत राखेकी छन् ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्ससँग गफिएर उनले त्यस्तो बताएकी हुन् ।

बिहीबार प्रकाशन भएको अखबारको तेस्रो पेजमा प्रकाशित समाचारमा नेपालमा नयाँ आशाबारेमा भन्दै लेखिएको समाचारमा दर्शनालाई बालेन्द्र शाहको देवत्वकरणका बारेमा प्रश्न गरिएको छ ।

जवाफमा दर्शनाले भनेकी छन्, ‘कुनै पनि नेता न देवता हुन्छ न त राक्षस,’ उनले थपिन्, ‘उनीहरू मान्छे मात्रै हुन् ।’

समाचारमा बब्लु गुप्ता, प्रतिभा रावल आदिसँग पनि कुरा गरिएको छ । तर, समाचारमा रास्वपालाई पछिल्ला दशकहरूमा सबैभन्दा ठूलो जनमत पाएको भनिएको छ ।

जबकि रास्वपाको भन्दा धेरै प्रतिशत मत र सिट २०७४ को चुनावमा वाम गठबन्धनले ल्याएर पछि एउटै दल भएको थियो ।

समाचारमा बालेन्द्रलाई प्रशंसा धेरै गरिएको छ तर, उनले पत्रकार सम्मेलन नगरेको भन्दै केही आलोचना पनि गरिएको छ ।

Scroll to Top