मोटरसाइकल दुर्घटनामा स्याङ्जाका दुईको मृत्यु

कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी-पुर्तिघाट सडकखण्डमा आइतबार राति भएको एक मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार दुर्घटना राति करिब १० बजे सत्यवती गाउँपालिका-१ ठूलाबगर छल्दीस्थित सडकखण्डमा भएको हो।

रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल खसेको थियो।

दुर्घटनामा परेर चालक थापाको टाउकोमा गम्भीर चोट लागेको थियो भने पछाडि सवार रानाको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। राति नै घटनास्थलबाट उद्धार गरिएका दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विक र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो।

प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिएको छ भने मृतकहरूको शवलाई आज बिहान घटनास्थलमा मुचुल्का गरी कानुनी प्रक्रिया र परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याइपुर्‍याइएको जानकारी दिएको छ।

Scroll to Top