आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ ।
सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ ।
यस बर्षको विश्व रेडक्रस दिवसको विषयवस्तु ‘मानवतामा एकताबद्ध’ भन्ने रहेको छ, जुन संकटको समयमा करुणाका साथ काम गर्ने स्वयंसेवक र कर्मचारीहरूको शक्तिमा केन्द्रित छ । यो विषयवस्तुले विभाजित संसारमा एकता, सामुदायिक लचिलोपन र मानवीय कार्यको संरक्षणमा जोड दिएको छ ।
नेपालमा रेडक्रस अभियानको एक अभिन्न अंकका रूपमा विसं २०२० भदौ १९ गते स्थापना भएको हो ।
हाल नेपाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार ९३४ जुनियर तथा युवा सर्कल छन् ।
समुदायस्तरसम्म फैलिएका यी संगठानिक निकायमा नौ लाख ३० हजार सदस्य तथा स्वयंसेवक आबद्ध छन् ।
सङ्गठन र स्वयंसेवकको देशव्यापी सञ्जाल भएको नेपाल रेडक्रसले आइएफआरसीको आर्थिक एवं प्राविधिक सहयोगमा प्रकोप व्यवस्थापन, स्वास्थ्य सेवा, सामुदायिक विकास, खानेपानी तथा स्वच्छता प्रवद्र्धन, रेडक्रस सिद्धान्त र मूल्य मान्यताको प्रवद्र्धनजस्ता कार्य क्षेत्रहरूमार्फत बर्सेनि करिब २५ लाखभन्दा बढीलाई सेवा पु¥याउन सफल भएको छ ।







