६२ वर्षे बुबाको हत्या आरोपमा रुपाका भिमबहादुर पक्राउ

कास्कीको रुपा गाउँपालिका वडा नम्बर ४ बागेडाँडा बस्ने ६२ वर्षीय रामबहादुर भुजेलको हत्या गरेको अभियोगमा उनका ३४ वर्षीय छोरा भिमबहादुर भुजेललाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर बस्नेतका अनुसार गत वैशाख १७ गते साँझ करिब ६ बजेर ४५ मिनेटमा रामबहादुर भुजेल आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए ।

उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा फेला परेपछि ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेको थियो । पोष्टमार्टमका लागि मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको थियो ।

घटनाको अनुसन्धानका क्रममा कोठाको ढोका खुल्लै रहेको र मृतकको घाँटीमा कसिलो गरी गलबन्दी बेरिएको पाइएपछि प्रहरीले कर्तव्य ज्यानको आशंकामा खोजतलास सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा आफ्नै कान्छो छोरा भीमबहादुरको संलग्नता देखिएपछि प्रहरीले उनलाई वैशाख १८ गते पोखरा महानगरपालिका वडा नम्बर ११ हस्पिटल चोकबाट पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।

पक्राउ परेका भुजेल विरुद्ध जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Scroll to Top