पोखरा बसपार्कका सुकुम्बासीले आज पत्रकारसँग बिना बिकल्प पोखरा बसपार्कबाट उठाउन खोजे सशक्त प्रतिवादको चेतावनी दिएको छ ।
हालै गठित भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति, कास्कीको ब्यानरमा पत्रकार सम्मेलनमार्फत उनीहरुले वैकल्पिक व्यवस्था गरिदिए अहिले बसिरहेको ठाउँ खाली गर्न तयार रहेकोसमेत बताएका छन्।
सरकारले नै बस्न दिएको र बिजुली, पानीलगायतका आधारभूत सुविधासमेत दिएको अवस्थामा अहिले आएर बेघर बनाउने कानून ‘गरिबमारा’ भएको समितिको ठहर छ ।
संघर्ष समितिका संयोजक प्रेम गुरुङले आफूहरूलाई हटाउनु पूर्व दूषित जग्गा दर्ता गर्नेको घरमा डोजर चलाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।
वैकल्पिक व्यवस्था नभएसम्म कुनै पनि हालतमा ठाउँ खाली नगर्ने अडानबीच संयोजक गुरुङले पोखराकै ९ नम्बर वडाका कुनै स्थानमा वैकल्पिक व्यवस्था गर्न माग गरे ।
‘अहिले जहाँ छौं, त्यही नै चाहिन्छ भन्दैनौ, तर यही वडाभित्र व्यवस्थापन गरे खुशीसाथ ठाउँ खाली गरिदिनेछौं’ उनले भनेका छन् ।
सुकुम्बासीलाई गैरनागरिकको जस्तो व्यवहार गरिरहेको भन्दै उनले बालेन सरकार जनमुखी हुन नसकेको जनाएका छन् ।







