नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ ।
यसअघि वैशाख १८ गतेका लागि तय गरिएको उक्त कार्यक्रम विशेष कारणवश लम्बिएर ३१ मा पुगेको आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
मञ्चका अध्यक्ष मानबहादुर घर्तीमगर एमबी आस्थाले कार्यक्रमको तयारी तिब्र पारिएको बताए । उनका अनुसार पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने सो कार्यक्रममा ९ वटा विधामा अवार्ड प्रदान गरिनेछ ।
हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने यस कार्यक्रममा वर्ष खेलाडी (पुरुष), वर्ष खेलाडी (महिला), पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघरक्लब, स्पेसल अवार्ड र उत्कृष्ट खेल पत्रकार गरी कुल ९ विधामा अवार्ड प्रदान गरिने अध्यक्ष मगरले बताए ।
यसपटक ‘पिपुल्स च्वाइस’ र ‘स्पेसल अवार्ड’ थप गरिएको छ । पिपुल्स च्वाइस अवार्डका लागि ‘गुरुङ गहना घर’ र स्पेसल अवार्डका लागि ‘नेलम्बो नेपाल’ले प्रायोजन गरेका छन् ।
खेलकुद क्षेत्रको समग्र विकास र खेलाडीहरूको मनोबल उच्च राख्ने उद्देश्यले ०७२ सालदेखि मञ्चले निरन्तर यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।
अवार्ड कार्यक्रमलाई भव्य बनाउन मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था)को संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा उपाध्यक्षद्वय राजाराम पौडेल र उमा आले रहेकी छिन् ।
सह–प्रायोजकमा गुरुङ गहना घर र केल्मी नेपाल रहेका छन् । त्यस्तै, भोटिङ पार्टनरका रूपमा खल्ती डिजिटल वालेट र हस्पिटालिटी पार्टनरका रूपमा प्लाजा होटल ग्रुपको साथ रहेको छ ।







