कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तम पौडेलको विशेष उपस्थितिमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नागरिक समाज कास्कीका तर्फबाट राष्ट्रिय स्वाधीनता र स्थानीय विकासका विभिन्न ५ बुँदे विषयहरु उठाइएको छ ।
नागरिक समाजले राष्ट्रघाती एमसिसीको पूरक सम्झौताको रुपमा रहेको एसपिपी कुनै हालतमा पारित नगर्न पौडेलको ध्यानाकर्षण गराए । उनीहरुले राष्ट्रिय अखण्डतामा आँच आउने गतिविधि वर्तमान सरकारबाट हुन नहुनेमा जोड दिए ।
स्थानीय विकासका सम्बन्धमा नागरिक समाजले पोखराका विभिन्न खोलाहरुमा करिडोर निर्माणको माग राखेका छन् । उनीहरुले फिर्केखोला, याम्दी, विजयपुर, फुस्रेखोला लगायत सेती नदीमा करिडोर निर्माणका लागि विशेष पहल गर्न सांसद पौडेललाई आग्रह गरे ।
यस्तै, फेवातालको संरक्षण, विकास तथा उचित मुआब्जा वितरणका लागि माग भई आए बमोजिम उपयुक्त बजेट व्यवस्थापन गर्न उनीहरुले माग गरे ।
‘फेवातालको खपौंदी, गौरीघाट र तालपारी क्षेत्रमा सयौँ वर्षदेखि बसोबास गर्दै आएका आदिवासी जलारी, भुजेल तथा गुरुङ समुदायलाई ल्यान्डपुलिङ गरी सोही ठाउँमा बस्ने व्यवस्था मिलाइयोस्’ उनीहरुले भने ।
नागरिक समाजले पोखराको पृथ्वीचोकमा रहेको सुकुम्बासी बस्ती खाली गरी अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने माग समेत अघि सारेका छन् । काठमाडौंको मोडेल अनुसार बस्ती खाली गरेर बसपार्क निर्माणका लागि संघ सरकारबाट सहजीकरण गर्न उनीहरुले माग गरे ।
साथै, असली सुकुम्बासीलाई बसोबासका लागि विशेष व्यवस्था मिलाउन समेत उनीहरुले सांसद पौडेललाई आग्रह गरे ।







