मैया नेपालीमाथिको जातीय विभेदमा पोखरा २४ का वडाध्यक्षलाई ४ महिना जेल सजाय

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीलाई दलित महिलामाथि विभेद गरेको मुद्दाउपर फैसला हुँदा ४ महिना जेल सजाय हुने भएको छ ।

यस मुद्दामा १७ महिनाअघि कास्की जिल्ला अदालतले अधिकारीविरुद्ध फैसला सुनाएको थियो ।

उक्त फैैसलाविरुद्ध उच्च अदालत पुगेपनि अन्ततः जातीय भेदभाव तथा छुवाछुत मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरेपछि अधिकारी जेल जाने भएका छन् ।

उच्च अदालतका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले कास्की जिल्ला अदालतले यसअघि गरेको कैद र जरिवानाको फैसलालाई सदर गर्ने आदेश दिएको छ ।

वडा कार्यालयमा लक्षित वर्गको बजेट र सीपमूलक तालिमको विषयमा भएको छलफलमा अध्यक्ष अधिकारीले मैया नेपालीलाई अमानवीय शब्द प्रयोग गरेका थिए ।
त्यसपछि नेपालीले आफूमाथिको दुर्व्यवहार र विभेद विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेकी थिइन् ।

अदालतले उनलाई जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बमोजिम ४ महिना १५ दिन कैद र ७५ हजार जरिवाना तोकेको थियो ।

त्यसबाहेक पीडित नेपालीलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत फैसला भएको छ ।

Scroll to Top