नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी गर्दै जनताले पाएका हक अधिकार खोस्ने गतिविधि भए सडक र सदनबाट प्रतिवाद गर्ने बताएका छन् ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले रास्वपा नेतृत्वको सरकारलाई रचनात्मक ढंगले सहयोग हुने भन्दै संविधानमाथि छेडखानी र राष्ट्रिय हितमाथि कहीँकतैबाट आँच आउन थाले सडक र सदनबाट प्रतिवाद गर्ने बताएका हुन् ।
‘यदि यो संविधानभित्र रहेर सरकारले रचनात्मक र सकारात्मक राम्रो काम गर्दा हामी त्यसलाई सकारात्मक नै ढङ्गले हेर्छौं । तर संविधानमाथि छेडखानी हुन थाल्यो, नेपाल राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो या जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी त्यसको फेरि सदनभित्र पनि सडकबाट पनि त्यसको प्रतिवाद गर्छौं ।’ प्रचण्डले भने ।
अहिले विद्यार्थीहरूको हक अधिकार र कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको भन्दै प्रचण्डले लामो संघर्ष, ठुलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरू, जनवर्गका अधिकारमाथि कुनै किसिमको छेडखानी नगर्न चेतावनी समेत दिए ।







