गण्डकी प्रदेश सभाको मंगलबार बसेको बैठकले ‘गण्डकी प्रदेशमा जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ सर्वसम्मतिले पारित गरेको छ ।
स्वास्थ्य मन्त्री कृष्ण पाठकले ‘सामाजिक विकास तथा कृषि समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गरेका थिए । विधेयकमाथि सांसदहरूले मंगलबार नै दफावार छलफल गरेका थिए ।
प्रदेशको भौगोलिक, आर्थिक र सामाजिक विविधतालाई मध्यनजर गर्दै नागरिकको आधारभूत र आकस्मिक स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न यो ऐन ल्याइएको हो ।
स्वास्थ्य सेवालाई सर्वसुलभ बनाएर सबै नागरिकको सहज पहुँच स्थापना गर्ने र रोगहरूको नियन्त्रण तथा प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्य विधेयकले राखेको छ ।
यस ऐनमा आकस्मिक सेवाको सुनिश्चितता, जनस्वास्थ्य आपतकाल र नसर्ने रोगको रोकथाम लगायतका महत्वपूर्ण विषयहरू समेटिएका छन् ।
समग्र स्वास्थ्य सेवालाई सुदृढ बनाउन र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न यो विधेयक ल्याइएको हो ।







