पोखरा । स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ ।
स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशकी पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारी ले ठूलो घण्टी र त्रिशूल स्तम्भको अनावरण गरिन्। सानो घण्टी ३० केजी को भने ज्येष्ठ नागरिकमार्फत अनावरण गरिएको थियो।
भीरकोट नगरपालिकाका निवर्तमान मेयर छायराम खनालले स्थानीयवासीको सक्रियतामा उल्लेखनीय आर्थिक संकलन भई भौतिक संरचना निर्माण सम्भव भएको बताए। उनले स्वरेक कोटमा नियमित पूजा सञ्चालनको आवश्यकता औंल्याउँदै त्यसका लागि सवै लाग्नुपर्ने धारणा राखे।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष याम प्रसाद अधिकारी, समाजसेवी यामलाल शर्मा पंगेनी, इश्वर सेन ठकुरी, भीरकोट ५ का अध्यक्ष कृष्ण बहादुर थापा, पत्रकार घनश्याम पाण्डे लगायतले स्वरेक कोटको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सेनले सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको अभियानबाट २३ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको बताए ।
सोही रकममध्ये करिब १३ लाख रुपैयाँको लागतमा दुई घण्टी ( १२६ किलो र ३० किलो) तथा त्रिशुत स्तम्भ खरिद गरेको हो ।
अभियानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै स्थानीय कमल सेनलाई विशेष सम्मान गरिएको छ भने आर्थिक सहयोग गर्ने २५६ जना दातालाई पनि सम्मानपत्र प्रदान गरिएको समितिका कोषाध्यक्ष कमला सेनले जानकारी दिईन ।
१२६ किलोको घण्टी स्थापना भए सङै स्वरेक कोटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने स्थानियले अपेक्षा गरेका छ्न ।







