काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घनलाई नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत ‘राइड सेयरिङ’ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् ।
चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ ।
पछिल्लो समय उपत्यकामा राइड सेयरिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको र यससँगै अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने, मापदण्ड पूरा नगरी यात्रु ओसारपसार गर्ने तथा ट्राफिक नियमको बेवास्ता गर्ने प्रवृत्ति पनि बढेको देखिएकाले उक्त अवस्थालाई नियन्त्रण गर्न लक्षित गर्दै विशेष चेकिङ अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
कार्यालय दिएको जानकारी अनुसार कारबाहीमा परेका अधिकांश चालकले ‘अनलाइन प्लेटफर्म’को अनुमतिबिना अफलाइन रूपमा सेवा सञ्चालन गरिरहेका थिए ।
यसैगरी, जथाभावी स्थानमा यात्रु चढाउने र झार्ने, सवारीसाधनको प्राविधिक अवस्था कमजोर हुनु, आवश्यक कागजात नहुनु तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने गतिविधि पनि भेटिएको कार्यालयको भनाई छ ।







