पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले आयोजना गरेको १२औँ रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमको उद्घाटन कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पहिलो रक्तदाता तथा एशोसियसनका सल्लाहकार माधव सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गर्दै गरेका थिए ।
उद्घाटन मन्तव्यमा बरालले व्यापारिक संस्था भए पनि एशोसियसनले सामाजिक कार्यमा सक्रिय भूमिका खेलेकोमा प्रशंसा गर्दै सबै संघ–संस्थाहरू कानुनी दायराभित्र रहेर सञ्चालन हुनुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि, पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछाने ले एशोसियसनलाई आवश्यक सहयोग र सहकार्य गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै विशाल बजारको प्रतिष्ठा जोगाइ राख्न आग्रह गरे ।
त्यस्तै, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम ले रक्तदानजस्तो मानवीय कार्य आयोजना गरेकोमा धन्यवाद दिँदै व्यवसायीहरूको हकहितमा सधैँ आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन ।
कार्यक्रममा एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्री ले “रगत किनेर पाइँदैन, समयमै नपाए जीवन जोखिममा पर्छ” भन्दै रक्तदानलाई सबैभन्दा ठूलो दानको रूपमा उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायत अन्य वक्ताहरूले पनि कार्यक्रमको प्रशंसा गरेका थिए ।
एशोसियसनका अध्यक्ष बुद्धि बहादुर कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तथा संयोजक मनोहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने महासचिव थमनसिंह गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रमलाई प्रादेशिक रक्तसञ्चार केन्द्रको टोलीले विशेष सहयोग गरेको थियो ।







