नयाँलिपी । जनप्रिय माध्यमिक विद्यालयमा विहीबार अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको चौतर्फी हित गर्न आयोजित भेलाले विद्यालय व्यवस्थापन समितिमा अभिभावकबाट चयन हुने ३ सदस्य टोली सर्वसम्मत गर्दै भेला सकिएको थियो । भेलाले सरस्वती शाही पोख्रेल, टंकप्रसाद सुवेदी र देवीप्रसाद त्रिपाठी सदस्यमा चयन भएका छन् ।
भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा केदार धमलालाई चुनेको छ । संघको सदस्यमा रिङ्कु जैसवाल, माया पाण्डे, पानमाया परियार, अनु सिंह, सुशिला श्रेष्ठ, सपना पराजुली र कवितादेवी ढकाल रेग्मीलाई सर्वसम्मत चयन भएको छनौट समितिका संयोजक शिक्षा अधिकृत रामप्रसाद तिवारीले जानकारी दिए ।
शिक्षा नियमावली २०७४ को नियम २९ बमोजिम आयोजित भेलामा स्वागत गर्दै विद्यालय प्रअ देवीप्रसाद बस्ताकोटीले विद्यलयको विभिन्न गतिविधि प्रस्तुत गरेका थिए । प्रअ वस्ताकोटीले कास्कीको मात्र नभई राष्ट्रलाई योगदान दिन सक्ने शैक्षिक एवं योग्य जनशक्ति उत्पादन गर्न विद्यालयले रचनात्मक शैक्षिक कार्यक्रम ल्याएको बताए । उनले आगामी दिनको विद्यालयको चौतर्फी हित गर्न सवैको हातेमालो आवश्यक पर्ने भन्दै झण्डै १७ सय विद्यार्थी अध्ययन गर्ने जनप्रिय माविलाई शैक्षिक कार्यक्रम मार्फत् नमुना विद्यालय स्थापनामा आफू क्रियाशील भएर लागेको उल्लेख गरे
विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारीले सञ्चालन गरेको सभामा पोखरा महानगर वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले विद्यालयको प्रगति र उन्नतीको लागि निरन्तर सहयोग गर्न वडा तयार रहेको बताए । उनले नमुना विद्यालय निर्माण गर्न विद्यार्थीलाई अनुशासित, मर्यादित र सीप युक्त शैक्षिक जनशक्ति उत्पादनमा जोड दिँदै करोडौ रुपैयाँ लगानी गर्न आफू तयार रहेको बताए । आफूले पढेको विद्यालयको हितमा सवै काम गर्न तयार रहेको बताएका बरालले बजेटको कुनै समस्या नहुने ठोकुवा गरेका थिए । विद्यालयको सभाहलमा उल्लेख्य उपस्थित अभिभावकले विभिन्न जिज्ञासा राखेका थिए ।







