लेकसाइडमा ‘ध्वनि आतंक’ फैलाउने बाइकमाथि कास्की प्रहरीको कारबाही, ६ चालक नियन्त्रणमा

पोखरा । पोखराको लेकसाइड क्षेत्रमा मोटरसाइकल मोडिफाई गरेर चर्को आवाज निकाल्ने १० वटा मोटरसाइकलसहित ६ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अप्रेसन ३६५’ अन्तर्गत शुक्रबार राति विशेष चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा–६ लेकसाइड क्षेत्रमा राति १ बजेदेखि बिहान ६ बजेसम्म अभियान सञ्चालन गरेको थियो । सो क्रममा मोटरसाइकलको स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्दै ध्वनि प्रदूषण गर्ने तथा शान्ति सुरक्षामा असर पु¥याउने गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा अवरोध र झगडा गर्न खोज्ने ६ जना चालक र १० वटा मोटरसाइकलमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरि बहादुर बस्नेतले सवारी साधन मोडिफाई गरेर चलाउने र ध्वनि प्रदूषण गर्ने विरुद्ध निगरानी कडा बनाइएको बताए । उनले सवारी साधन धनीलाई आफ्नो सवारी पूर्ववत् असली स्वरुपमै चलाउन आग्रह गर्दै मोडिफिकेसन गर्ने ग्यारेज, वर्कसप र रिकन्डिसन हाउसलाई पनि यस्तो काम नगर्न चेतावनी दिएका छन् ।

Scroll to Top