पोखरा । पाँच वर्षपछि पोखरामा पुनः ‘नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ । कोभिड–१९ महामारी र विभिन्न प्रशासनिक तथा प्राविधिक कारणले रोकिएको प्रतियोगिताको २१औँ संस्करण चैत ५ देखि ७ गतेसम्म हुने नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ ।
प्रतियोगितामा नेपालसहित भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटली र लेबनानलगायत ८ देशका ८७ जना प्याराग्लाइडिङ पाइलटले हालसम्म अनलाइनमार्फत नाम दर्ता गराइसकेका छन् । प्रतियोगिता एक्युरेसी इभेन्टमा व्यक्तिगत र टिम दुवै विधामा हुनेछ ।
टेकअफ सराङकोटबाट र ल्याण्डिङ खपौदीमा गर्ने तयारी गरिएको छ । प्रतियोगितामा विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

