पोखरा । कास्की कारागारबाट फरार भएका एक प्रतिवादीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार डाँका चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक निवासी सूर्य बहादुर घर्ती क्षेत्री आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार भएका थिए ।
प्रहरीले फरार प्रतिवादीको खोजी कार्य जारी राखेको अवस्थामा २०८२ फागुन २५ गते राति १२:४५ बजे नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले उनलाई पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका घर्ती क्षेत्रीलाई बाँकी सजाय भुक्तानका लागि पुनः कारागार कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
प्रहरीका अनुसार फरार रहेका प्रतिवादीहरूको खोजी तथा नियन्त्रण अभियानलाई अझ तीव्र बनाइएको छ ।







