“हामीलाई जिताउनुस्, सिक्लेस र ताङतिङको सडक अहिलेजस्तो रहँदैन:”एमाले उमेदवार बैनबहादुर

पोखरा । नेकपा एमालेबाट कास्की–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले मादी गाउँपालिकाका दुई प्रमुख पर्यटकीय गाउँ सिक्लेस र ताङतिङ पुग्ने सडकलाई सहजै आउजाउ गर्नसक्ने बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार मादी–२ ताङतिङका मतदातासँगको भेटमा उनले पटकपटक पहल भएपछि अहिलेको अवस्थासम्म दुवै गाउँको सडक स्तरोन्नति भएको सुनाए । जितेर गएपछि अर्को निर्वाचनमा आउँदासम्म काउरे डाँडादेखि ताङतिङसम्म सडक कालोपत्रे गरिने उनको भनाइ थियो । ‘सिक्लेस, ताङतिङमा बाटोको रेखा कोर्ने पार्टी एमाले हो ।

दुवै गाउँको बाटो स्तरोन्नति र कालोपत्रेकै चरणमा छ,’ उनले थपे, ‘काउरे डाँडादेखि ताङतिङसम्म आउने सडक हामी अर्को निर्वाचनमा आउँदासम्म कालोपत्रे हुन्छ । यो बोल्नका लागि बोलेका होइन ।’

सिक्लेससम्म जाने सडक पनि केही खोलामा पुल आवश्यक देखिएको उनको भनाइ थियो । सिक्लेस पुग्ने सडक पूरै कालोपत्रे गर्न भौगोलिक हिसाबले सम्भव भए गर्ने, नभएपनि सहज आउजाउ गर्न सक्ने बनाउने उनको प्रतिबद्धता छ । यसका लागि आफू निर्वाचित भएपछि प्राथमिकता दिएर पहल थाल्ने अधिकारीले बताए ।

सडक बनाएर मात्र नहुने, त्यसलाई आयआर्जनसँग जोड्नुपर्ने उनले बताए । ताङतिङ, क्रपु र क्वहोलासोँथारलाई जोडेर पर्यटीय गतिविधि विकास गर्न सकिने उनले सुनाए ।

Exit mobile version