सुरज श्रेष्ठ
पोखरा । नेपाली महिला फुटबलको इतिहासमा सबैभन्दा चर्चित र सफल खेलाडीमध्ये एक हुन् सावित्रा भण्डारी ‘साम्बा’। राष्ट्रिय टोलीकी कप्तानका रूपमा उनले दक्षिण एसियादेखि युरोपसम्म नेपाललाई चिनाएकी छन् । तर आज त्यही कप्तान उपचारका लागि आर्थिक सहयोगको अपिल गर्न बाध्य हुनु केवल व्यक्तिगत पीडा होइन—यो नेपाली फुटबल प्रशासनको गम्भीर असफलताको संकेत हो ।
साम्बा पुनः एसीएल र एमसिएल चोटका कारण जटिल शल्यक्रियाको पर्खाइमा छिन् । उपचार खर्च करिब एकदेखि डेढ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । हाल उनी न्यूजिल्यान्डको Wellington Phoenix फुटबल क्लबबाट व्यावसायिक फुटबल खेलिरहेकी छन्, जहाँको बीमाबाट करिब २०–२५ लाख रुपैयाँ उपलब्ध हुने बताइएको । साम्बाले आर्थिक सहयोगको लागि सामजिक सन्जाल मार्फत सहयोगको आचना गरे पछि त्यति रकम त उठछ नै । तर यस्ले एन्फाको नियत राम्रै सङ्ग उदाङो पारिदियो ।
दुई महिनाअघि नै उनले एन्फा सँग सहयोगको अपिल गरेकी थिइन् । तर कुनै ठोस सुनुवाइ नभएपछि उनले सामाजिक सञ्जालमार्फत उपचारका लागि सहयोग माग्नुपरेको खेलाडी संघका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी विक्रम लामाले जानकारी दिएका छन् । उनका अनुसार खेलाडी संघले आफ्नो तर्फबाट सहयोग संकलन गरिरहेको छ र नेपाल सरकारसँग पनि विषय उठाइएको छ, तर सरकारी प्रक्रिया लामो हुने देखिन्छ ।
साम्बाले सामाजिक सन्जालमा सहयोगको अपिल गरे पछि एन्फाले फागुन ११ गते विज्ञप्ती निकालेर हामीलाई जानकारी हुने बित्तिकै परराष्ट्र मन्त्रालयसङ समम्न्वय गरि रहेको र यो भन्दा अघि अन्य खेलाडीहरुको उपचार पनि निशुल्क गरेको जनाएको छ । यस विषयमा थप बुझ्नलाई नयाँलिपिका सुरज श्रेष्ठले एन्फाका महासचिव किरण राईलाई फोन गर्दा उनले सबैकुरा विज्ञप्तीमै भएकोले थप बोल्न नपर्ने प्रतिकृया दिए ।
एन्फाले पछि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे पनि साम्बाले उक्त रकम नलिने घोषणा गरेकी छिन । विक्रम लामाका अनुसार, “यो एन्फाको लापरबाही हो।” उनका भनाइमा, यदि एन्फाले पहल गरेर कतार फुटबल संघलाई पत्राचार गरेको भए उपचार प्रक्रिया अझ सहज हुन सक्थ्यो । यसअघि पनि साम्बाले कतारमै उपचार गराएकी थिइन् र अहिले पनि सोही स्थानमा उपचार गराउने तयारीमा छिन् ।
यद्यपि सहयोग आउने क्रम जारी छ । साम्बाले सामाजिक सञ्जालमा राखेको सहयोग अपिल पोस्टमा हालसम्म लगभग उपचार रकम पुगिसकेकोले सहयोग बन्द गर्न भनेकी छिन । उनका देश–विदेशबाट समर्थक, शुभेच्छुक र फुटबलप्रेमीहरू उनको साथ दिएको हो । यो सहयोगले उनको उपचार यात्रामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।
तर प्रश्न केवल रकम संकलनको होइन—प्रणालीको हो । राष्ट्रिय टोलीकी कप्ताननै उपचारका लागि सार्वजनिक अपिल गर्नुपर्ने अवस्था आउँछ भने अन्य खेलाडीहरूको अवस्था कस्तो होला?
के खेलाडीहरूको पूर्ण स्वास्थ्य बीमा सुनिश्चित छ?
के आकस्मिक उपचार कोष प्रभावकारी रूपमा सञ्चालनमा छ?
के गम्भीर चोट व्यवस्थापनका स्पष्ट प्रोटोकल छन्?
साम्बाले भनेकी छन्—“थाकेको हो, हारेको छैन।” यो वाक्य केवल इमोस्नल अभिव्यक्ति होइन, संघर्ष र पुनरागमनको अठोट हो । गम्भीर चोटबाट यसअघि पनि सफल पुनरागमन गरिसकेकी उनी फेरि एकपटक मैदानमा फर्कने सपना बोकेर उपचारको तयारीमा छिन् ।
आज उनको सपना केवल व्यक्तिगत उपलब्धिको कुरा होइन—यो नेपाली महिला फुटबलको प्रेरणा र भविष्यसँग जोडिएको विषय हो । सहयोगको हातहरू थपिँदै जाँदा आशा पनि बलियो बन्दै गएको छ । यदि सबै पक्ष जिम्मेवार बने भने साम्बा फेरि मैदानमा फर्कनेछिन्, गोल गर्नेछिन्, र नयाँ पुस्तालाई विश्वास भर्नेछिन् ।
साम्बा भन्छिन्, “थाकेको हो, हारेको छैन।” अब पालो संस्थाहरूको हो—उनी हारेकी छैनन् भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्ने । मैदानमा उनको पुनरागमन केवल व्यक्तिगत जित हुनेछैन, त्यो नेपाली फुटबलका लागि पनि आत्मसुधारको अवसर हुनेछ ।
