कास्की–१ मा गनेस पौडेलको वाचापत्र सार्वजनिक, शिक्षा–स्वास्थ्य र भूमि अधिकारमा जोड

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो वाचापत्र सार्वजनिक गरेका छन्।

वाचापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग–रोजगार, भूमि अधिकार, सुशासन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।

वाचापत्रअनुसार विद्यालय शिक्षा ऐनमार्फत सबैको हित सुनिश्चित गर्ने, प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने तथा प्रत्येक पालिका वा १० हजार विद्यार्थीलाई पायक पर्ने गरी नमुना विद्यालय विकास गर्ने प्रतिबद्धता जनाइएको छ।

स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवा सबै स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउने, स्वास्थ्य बीमामा सबैको आबद्धता सुनिश्चित गर्ने तथा ‘स्वस्थ नेपाल’ अभियानलाई प्रवद्र्धन गर्ने उल्लेख छ।

पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधा उपलब्ध गराउने, पदमार्ग संरक्षण ऐन जारी गर्ने तथा कास्कीका प्रमुख ताल र पर्यटकीय गन्तव्यलाई जोड्ने “इको–टुरिज्म सर्किट” विकास गर्ने योजना वाचापत्रमा समेटिएको छ।

‘अबको किसान को?’ कार्यक्रम लागू गर्दै अर्गानिक, बायो–डायनामिक र पर्माकल्चर कृषिको प्रवद्र्धन गर्ने, बिचौलिया रहित किसान बजार स्थापना गर्ने योजना अघि सारिएको छ।

त्यसैगरी नयाँ उद्योग दर्ता तथा खारेजीमा एकद्वार प्रणाली लागू गर्ने, स्टार्टअप तथा साना उद्योगलाई वित्तीय सहुलियत र मार्गदर्शन उपलब्ध गराउने तथा रोजगारी पोर्टल र श्रम बैंक स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।

भूमिस्वामित्वलाई नागरिकको आधारभूत अधिकारका रूपमा स्थापित गर्ने, भूमिहीन दलित र सुकुम्बासीको भूमि अधिकार सुनिश्चित गर्ने तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने योजना वाचापत्रमा उल्लेख गरिएको छ।

ग्रामीण सडक स्तरोन्नति र कालोपत्रे, ‘युटिलिटी डक्ट’ प्रणालीमार्फत सडक पटक–पटक खन्ने समस्या समाधान तथा पोखरा–त्रिवेणी र पोखरा–कोरला सडक विस्तारको पहल गर्ने योजना समावेश गरिएको छ।

वातावरण संरक्षणतर्फ वैकल्पिक खानेपानी मुहान, नदी, ताल र वन संरक्षणमा स्थानीय सहभागिता बढाउने तथा फोहोर व्यवस्थापनमा चक्रीय अर्थतन्त्र मोडल लागू गर्ने उल्लेख छ।

सुशासनका लागि सरकारी सेवाको पूर्ण डिजिटाइजेशन, प्रत्येक ६ महिनामा वडा–स्तरीय जनभेला र बजेटको एक हिस्सामा नागरिक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

उम्मेदवार पौडेलले वाचापत्र सार्वजनिक गर्दै कास्की–१ लाई सुशासन, दिगो विकास र नागरिक अधिकारको नमुना क्षेत्र बनाउने लक्ष्यका साथ आफू अघि बढेको बताएका छन्। विकास, सामाजिक न्याय र युवामैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्दै सार्वजनिक गरिएको बाचापत्रमा विशेषगरी खेलकुद पूर्वाधार विस्तार र विभेदविरुद्ध प्रभावकारी संयन्त्र निर्माणका विषय समेटिएका छन्।

बाचापत्र अनुसार पोखरामा रहेको रंगशालाको स्तरोन्नति गरिने, निजी तथा सामुदायिक स्तरमा सञ्चालन भइरहेका स्पोट्र्स एकेडेमीलाई अनुदान उपलब्ध गराइने तथा प्रत्येक १० हजार जनसंख्याका बीचमा एक खेल मैदान निर्माण गर्ने लक्ष्य राखिएको छ। यसबाट युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ र अनुशासित समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

त्यसैगरी सामाजिक तथा राजनीतिक न्यायअन्तर्गत विभेद सम्बन्धी उजुरीको छिटो सुनुवाइका लागि द्रुत सहायता डेस्क स्थापना गर्ने, सबै क्षेत्र र निकायमा सीमान्तकृत समुदायको प्रतिनिधित्वको अनुगमन गर्ने र लैङ्गिक तथा सामाजिक हिंसाका घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गरिने उल्लेख गरिएको छ। पीडितको उपचार, पुनस्र्थापना र जीवनयापनमा समेत सहयोग गर्ने व्यवस्था गरिने पौडेलको प्रतिबद्धता छ।

उम्मेदवार पौडेलले बाचापत्रलाई “कागजी घोषणा मात्र नभई कार्यान्वयन गर्ने प्रतिवद्धता” भएको बताउँदै जनताको विश्वासलाई व्यवहारिक परिणाममार्फत प्रमाणित गर्ने दाबी गरेका छन्।

रास्वपाले सम्पूर्ण बाचापत्र डिजिटल माध्यममार्फत समेत सार्वजनिक गरेको छ। कास्की–१ का मतदातालाई बाचापत्र अध्ययन गरी सुझाव दिन र कार्यान्वयनमा साथ दिनसमेत आग्रह गरिएको छ। 

Scroll to Top