सुरज श्रेष्ठ,पोखरा । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले हात पारेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा सहाराले जाउलाखेललाई २–० ले पराजित गर्दै दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।
सहाराले पहिलो हाफमै खेलमा दाबेदार बन्ने संकेत देखाएको थियो । खेलको २५औँ मिनेटमा मुकुन्द कुमार न्यूरेले गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोस्रो हाफमा डिफेन्डर टाये डिनियल बादारुले ७३औँ मिनेटमा सुसिल लामाले दिएको लामो क्रसबललाई हेडमार्फत गोल थपेपछि सहाराको जित सुनिश्चित भयो । जावलाखेलले केही अवसर सिर्जना गरे पनि गोल फर्काउन सकेन । फाइनल खेलको ‘म्यान अफ म्याच’ सहाराका कप्तान शुशिल लामा बने ।
१४ वर्षपछि फाइनल पुगेको जावलाखेलसँग इतिहास रच्ने अवसर थियो । उसले सेमिफाइनलमा उज्बेकिस्तानको आभा एफसीलाई १–० ले हराउँदै अन्तिम दुईमा स्थान बनाएको थियो । तर उपाधि भने सहाराले उचाल्यो ।
यसअघि सहाराले २०७० सालमा पनि उपाधि जितेको थियो । यस जितसँगै सहारा दुई पटक आहा रारा गोल्डकप जित्ने टोली बनेको छ ।
व्यक्तिगत विधागत पुरस्कार
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सहाराका मुकुन्द कुमार न्यूरे घोषित भए । उनले पुरस्कारस्वरूप टेल्जी कम्पनीको एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गरे । न्यूरे प्रतियोगिताको उदीयमान खेलाडीसमेत बने । सर्वाधिक गोलकर्ता प्लानि ब्वाइजका पापा इबाउ काबे भए । उनले प्रतियोगिताभर ३ गोल गरे । उत्कृष्ट फरवार्ड जावलाखेलका धर्मेन्द्र कुमार, उत्कृष्ट मिडफिल्डर जावलाखेलकै बाउबाकार सिसोको घोषित भए ।
त्यस्तै,उत्कृष्ट गोलरक्षक सहाराका टिकेन्द्र थापा, उत्कृष्ट डिफेन्डर टाये डिनियल बादारु तथा उत्कृष्ट प्रशिक्षक सुनिल राना मगर घोषित भए । फेयर प्ले अवार्ड उज्बेकिस्तानको आभा एफसीले जित्यो । विधागत पुरस्कार विजेताहरुले जनही २५ हजारका साथमा ट्रफी पुरस्कार प्राप्त गरे ।
विजेता सहाराले १४ लाख १ हजार रुपैयाँसहित ट्रफी हात पा¥यो भने उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त ग¥यो ।
प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब र आयोजक टोली सहारा क्लब पोखरा रहेका थिए ।
यसै गरी विदेशी टिमका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी जनाएको थियो ।
टिकट बिक्रीमा निराशाजनक अवस्था
यस पटकको प्रतियोगितामा टिकट बिक्री अपेक्षाअनुसार नभएको देखिएको छ। टिकट संयोजक राजु शेरचनले बताए अनुसार २५औँ संस्करणमा कुल ४ लाख ४९ हजार रुपैयाँ बराबरको मात्र टिकट बिक्री भएको छ ।
पोखरा रंगशालामै केही महिनाअघि सम्पन्न भलिबल प्रतियोगितामा करिब १ करोड रुपैयाँ बराबरको टिकट बिक्री भएको थियो। आहा राराको विगत इतिहास हेर्दा टिकट बिक्रीबाट मात्र औसत ४० लाख रुपैयाँ हाराहारी आम्दानी हुने गरेको थियो ।
मोफसलकै सबैभन्दा पुरानो र प्रतिष्ठित प्रतियोगितामा टिकट बिक्री न्यून हुनु आयोजकका लागि चुनौतीपूर्ण पक्ष बनेको छ ।
आहा रारा पोखरा गोल्डकपमा अहिलेसम्मका विजेता
२०५८ – नेपाल पुलिस क्लब
२०५९्– नेपाल पुलिस क्लब
२०६० – मनाङ मस्र्याङ्दी क्लब
२०६१ – मनाङ मस्र्याङ्दी क्लब
२०६२ – अफ्रिकन युनाइटेड
२०६३ – थ्रीस्टार क्लब
२०६४ – नेपाल पुलिस क्लब
२०६५ – नेपाल पुलिस क्लब
२०६६ – नेपाल पुलिस क्लब
२०६७ – थ्रीस्टार क्लब
२०६८ – मनाङ मस्र्याङ्दी क्लब
२०६९ – थ्रीस्टार क्लब
२०७० – सहारा क्लब
२०७१ – थ्रीस्टार क्लब
२०७२ – मनाङ मस्र्याङ्दी क्लब
२०७३ – मनाङ मस्र्याङ्दी क्लब
२०७४ – नेपाल पुलिस क्लब
२०७५ – थ्रीस्टार क्लब
२०७६ – मनाङ मस्र्याङ्दी क्लब
२०७७ – संकटा एफसी
२०७८ – एपिएफ एफसी
२०७९ – संकटा एफसी
२०८० – त्रिभुवन आर्मी एफसी
२०८१ – ब्ल्याक बुल्स एफसी, उज्वेकिस्तान
२०८२ – सहारा क्लब पोखरा







