सुरज श्रेष्ठ,पोखरा । आहा रारा पोखरा गोल्डकपको २५औं संस्करणको फाइनल खेल भोलि (शनिबार) पोखरा रंगशालामा हुँदैछ । उपाधिका लागि जाउलाखेल युथ क्लब र आयोजक सहारा क्लब आमनेसामने हुनेछन् । गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिता अब उपाधि भिडन्तमा केन्द्रित भएको छ ।
इतिहास हेर्दा जाउलाखेलको यस प्रतियोगितामा उल्लेखनीय सफलता छैन । विसं २०६८ मा फाइनल पुगेको जाउलाखेल त्यसबेला मनाङ मर्स्याङ्दी क्लब सँग २–० ले पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो । राष्ट्रिय लिगमा सहभागिता जनाएको र लामो इतिहास बोकेको जाउलाखेल पहिलो पटक आहा रारा पोखरा गोल्डकपको उपाधि जित्ने लक्ष्यमा मैदान उत्रँदैछ ।
जाउलाखेलका मुख्य प्रशिक्षक सुनिल कुमार श्रेष्ठले सहाराको घरेलु मैदानमा खेल्दा दबाब हुने स्वीकार गरे । “होम ग्राउण्डमा खेल्दा प्रेसर त हुन्छ नै, विपक्षी टिम पनि स्ट्रङ छ । हामी पनि त्यहीअनुसारको रणनीतिमा मैदान उत्रन्छौं,” उनले भने । नेपाली टोलीहरूमा देखिने फिनिसिङ समस्यालाई सुधार गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले सुरुवातमै गोल निकाल्ने योजनासहित खेल्ने बताए । “रणनीतिक अनुशासनका साथ यस पटक उपाधि जित्ने सोचका साथ मैदान उत्रनेछौं,” श्रेष्ठले प्रष्ट पारे ।
यता सहारा क्लबका प्रशिक्षक सुनिल राना मगरले आफ्नो टोली सन्तुलित रहेको दाबी गरे । “हाम्रो टिम अहिले ब्यालेन्स छ । कप्तान सुशील लामा नेतृत्वमा मुकुन्द नयूरे, रोनाल्डो दर्लामी, भगवत चौधरी, सन्तोष शाहीलगायतका युवा खेलाडीले टोलीलाई सन्तुलित बनाएका छन्,” उनले भने । उनले १२ वर्षअघि जितेको उपाधि पुनः दोहोर्याउने रणनीतिसहित मैदान उत्रने बताए । अघिल्लो खेलमा जित निकाल्न सडन डेथसम्म कुर्नुपरेको स्मरण गर्दै उनले फाइनलमा खेलको अवस्थाअनुसार रणनीति अपनाइने स्पष्ट पारे । “पहिले स्कोर निकाल्ने प्रयास हुन्छ, तर परिस्थिति अनुसार खेल व्यवस्थापन गर्छौं,” उनको भनाइ थियो ।
सहारा विसं २०६९ को उपाधि विजेता हो भने २०७० र २०७३ मा पनि फाइनल पुगेको थियो, यद्यपि दुवै पटक मनाङ मर्स्याङ्दी क्लबसँग पराजित भएको थियो ।
प्रतियोगिताको विजेताले नगद १४ लाख एक हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ लाख १ हजार नगदसहित ट्रफी र मेडल पाउनेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र सर्वाधिक गोलकर्ता गरी पाँच विधाका उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार नगदसहित ट्रफी पुरस्कार पाउने आयोजकले जनाएको छ ।
इतिहास, अनुभव र घरेलु समर्थकको साथका आधारमा सहारा केही बलियो देखिए पनि यस वर्ष सुधारिएको प्रदर्शनसहित मैदान उत्रने जाउलाखेलले कडा चुनौती दिने अपेक्षा गरिएको छ । त्यसैले २५औं संस्करणको उपाधि भिडन्त रोमाञ्चक हुने निश्चित छ ।







