नेका कास्की–१ का उम्मेदवार तिलक रानाभाट सुझाव सङ्कलनमा सक्रिय
कास्की । नेपाली कांग्रेस कास्की १ ले मतदाताहरूको सुझाव संकलन अभियानलाई तीव्र बनाएको छ । पार्टीका उम्मेदवार तिलक रानाभाट ले क्षेत्रको समग्र विकासका लागि आवश्यक योजना र प्राथमिकताबारे मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै तथ्याङ्क संकलन गरिरहेका छन् ।
रानाभाटले चुनाव जितेपछि संसदमा उठाउने एजेन्डा र क्षेत्रीय विकासका योजनाबारे स्थानीयसँग छलफल गरिरहेको बताए । उनले आगामी सरकार कांग्रेसकै नेतृत्वमा बन्ने दाबी गर्दै संविधान संशोधनमार्फत विकास–निर्माणमा देखिएका कानुनी अवरोध हटाउने प्रतिबद्धता व्यक्त गरे ।
पहिलो चरणअन्तर्गत सचिवालय उद्घाटन तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको र त्यसको प्रारम्भिक प्रतिवेदन तयार पारेर तथ्याङ्कमा आधारित विकास योजना अघि बढाइने उनले जानकारी दिए ।
यस्तै, चुनाव प्रचारप्रसारलाई प्रभावकारी बनाउन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघ लगायत भातृ संगठनलाई सक्रिय बनाइएको छ । चुनाव परिचालन समितिका संयोजक एवं क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेले सबै मतदातासम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।






