पोखरा र फुटबलको दर्दनाक अवस्थाः एक साताको टिकट कलेक्सन २ लाख पनि कटेन

‘ग्रासरुट कमजोर, दर्शक घट्दो—अब समग्र संरचनामै रि–थिंकिङ आवश्यक’

सुरज श्रेष्ठ/पोखरा । एक समय आहा रारा गोल्ड कपका खेलमा रंगशाला खचाखच भरिन्थ्यो । टिकट बिक्री मात्रै ३०/३५ लाख रुपैयाँसम्म पुग्थ्यो । प्रतियोगिताको पहिलो दिनमै ६०/७० हजार, क्वार्टरफाइनलमा एक–डेढ लाख, सेमिफाइनलमा २/३ लाख र फाइनलमा १०/१२ लाख रुपैयाँसम्मको टिकट बिक्री हुने गरेको सहारा क्लबका एक पदाधिकारी स्मरण गर्छन् ।

तर अहिले अवस्था फेरिएको छ । यस वर्ष प्रतियोगिता सुरु भएको एक सातामा जम्मा १ लाख ९३ हजार ६०० रुपैयाँको मात्रै टिकट बिक्री भएको २५ औं आहारारा गोल्डकप २०८२ को आर्थिक संयोजक एंव पूर्व कोषाध्यक्ष राजु शेरचनले जानकारी दिए ।

उनका अनुसार,पहिलो दिन ३२ हजार १००, दोस्रो दिन १७ हजार ९००, तेस्रो दिन १९ हजार २००, चौथो दिन १२ हजार १००, पाँचौँ दिन ४९ हजार ३००, छैटौँ दिन २९ हजार ९०० र सातौँ दिन ३३ हजार १०० रुपैयाँ बराबरको टिकट बिक्री भएको छ ।

टिकट बिक्रीको यो तथ्यांकले पोखराको फुटबलप्रतिको घट्दो आकर्षण स्पष्ट झल्काएको सरोकारवालाहरूको भनाइ छ ।

कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङले फुटबलप्रति युवापुस्ताको आकर्षण घट्दै जानु चिन्ताजनक भएको बताए । उनका अनुसार ११–ए–साइड फुटबलभन्दा फुटसल र ७–ए–साइड प्रतियोगिताको बढ्दो प्रभावले ११ –ए साइड फुटबललाई असर पारेको हुन सक्छ । “दीर्घकालीन रूपमा बलियो खेलाडी उत्पादन गर्न ग्रासरुट प्रणाली मजबुत बनाउनैपर्छ,” उनले भने ।

सहारा क्लबका निवर्तमान अध्यक्ष केशव राज बरालले खेलाडीको स्तर दिनप्रतिदिन खस्कँदै गएको उल्लेख गर्दै समग्र संरचना र नीतिमा पुनर्विचार गर्नुपर्ने बताए । “अब फुटबलको आधारभूत संरचनामै सुधार आवश्यक छ,” उनले जोड दिए ।

सहारा क्लबका अध्यक्ष केशव थापाले दर्शक घट्नुका विभिन्न कारण औंल्याए । हाल अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालनमा रहेकाले धेरै दर्शक त्यतातर्फ केन्द्रित भएको, साथै नाम चलेका स्टार खेलाडीको अभावले पनि रंगशालामा आकर्षण कम भएको उनले बताए ।

थापाले आहा रारा गोल्ड कपबाट बचत हुने रकम सामाजिक कार्य तथा अनाथ बालबालिकाको लालनपालनमा खर्च हुँदै आएको जानकारी दिँदै यस्तै अवस्था रहिरहे सहारा क्लब एक्लैले मात्र प्रतियोगितालाई निरन्तरता दिन कठिन हुने संकेत गरे ।

एक समय लाखौँ रुपैयाँ टिकट बिक्री हुने प्रतियोगिता अहिले एक सातामा २ लाख पनि नकट्नुले पोखरा र फुटबल दुवैको दर्दनाक अवस्थाको संकेत भएको विश्लेषण गरिएको छ ।

अब समयमै पोखराका फुटबल संघ, क्लब, स्थानीय सरकार तथा सम्बन्धित निकायहरूले गम्भीर ध्यान नदिए प्रतियोगिताको निरन्तरता मात्र होइन, समग्र पोखरेली फुटबलको भविष्य नै संकटमा पर्न सक्ने देखिन्छ ।फाईल तस्विर

Scroll to Top