
पोखरा । गण्डकी गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अख्तियारलाई अझ सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उनले नीति, पद्धति र प्रविधिगत सुधारलाई प्रभावकारी बनाउँदै भ्रष्टाचार न्यूनीकरणमा सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गरे ।
उनले शक्ति र पदका आधारमा कोही पनि कानुनी जवाफदेहिताबाट मुक्त नहुने विश्वास स्थापित गर्नुपर्ने बताए । बदलिँदो समयमा भ्रष्टाचारको स्वरूप जटिल बन्दै गएको भन्दै अनुसन्धान संयन्त्रलाई सशक्त र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।
प्रदेश प्रमुख भट्टले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सबै प्रकारका भ्रष्टाचार छानबिनको दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै स्वच्छ, पारदर्शी र जिम्मेवार राज्य संयन्त्र निर्माणमा अख्तियारको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।







