कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ तालिम, ७५ पत्रकार सहभागी

पोखरा । कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गर्दै निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै कास्की जिल्ला अदालतका न्यायाधीश एवं प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन सञ्चारमाध्यम र पत्रकारको महत्वपूर्ण भूमिका रहने बतए। उनले निर्वाचनका क्रममा समाचार संप्रेषणलाई सत्य, निष्पक्ष र स्वतन्त्र बनाउन यस्तो तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।

निर्वाचन आचारसंहिता र निर्वाचन प्रक्रियाबारे प्रस्तुति राख्दै गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकालले पत्रकारले निर्वाचनका बेला कुनै पक्षधरता नदेखाई स्वतन्त्र र जिम्मेवार ढंगले यथार्थ सूचना आमजनतासम्म पुर्‍याउनुपर्ने बताए ।

तालिममा समाधान दैनिकका प्रधान सम्पादक भरत कोइरालाले निर्वाचन रिपोर्टिङका क्रममा आफूले बटुलेका अनुभव सुनाउँदै आमसञ्चार माध्यमले पाठक, स्रोता र दर्शकप्रतिको विश्वास जोगाउन निष्पक्ष र तथ्यपरक समाचार प्रकाशन गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयरहित र धाँधलीरहित बनाउन पत्रकारिताको पनि महत्वपूर्ण भूमिका रहने भएकाले तालिम आयोजना गरिएको जानकारी दिदै उनले पत्रकारिता सधैं देश र जनताको पक्षमा हुनुपर्ने धारणा व्यक्त गरे ।

अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले तथा सञ्चालन सचिव भूपाल गुरुङले गरेका थियो। विभिन्न सञ्चारमाध्यममा आवद्ध ७५ जना पत्रकार तालिममा सहभागी भएको सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले जानकारी गराएका हो ।

बिहीबारसम्म सञ्चालन हुने तालिममा निर्वाचनसम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता तथा निर्वाचन सुरक्षा संवेदनशीलताजस्ता विषय समेटिने जनाएको छ ।

Exit mobile version