योजना र प्रतिबद्धतासहित बास्तोला मैदानमा

santan ads

पोखरा । कास्की क्षेत्र नं २ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) यतिखेर पार्टीका नेता तथा कार्यकर्तासँगै आम मतदातालाई भेट्ने क्रमलाई तीव्रता दिएका छन् । उम्मेदवारी दर्तासँगै चुनावी गतिविधिलाई अघि बढाइरहेका बास्तोला टोल तथा वस्तीमा पुग्दा आम मतदाताबाट पाइरहेको माया र सदभावले उत्साहित बनेका छन् ।

राजनीति पेशा नभै सेवा हो भन्ने मूल्य मान्यतालाई सँधै आत्मसात गरिरहने बास्तोला पार्टीमा इमान्दार र स्वच्छ छवी भएको नेताकारुपमा रहेकाले सिङ्गो पार्टी पंक्ति नै एकतावद्ध भएर जिताउन लागिपरेको छ । वि.स.२०२३ सालमा जन्मेका बास्तोलाले प्रारम्भिक शिक्षा शिवशक्तिm स्कुलबाट सुरु गर्दै कक्षा ७ पछि मालेपाटनको बाराही माविबाट एसएलसी उत्तिर्ण गरेका थिए ।

पृथ्वीनारायण क्याम्पसबाट बिएल उत्तीर्ण गरेपछि उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले बिएड समेत पूरा गरेका थिए । अध्ययनले खारिएका बास्तोलाले निर्वाचित भएसँगै शिक्षा क्षेत्रको विकाससँगै कानुन निर्माणमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न आफू सक्रिय रहने बताउँदै आएका छन् ।

२०३६ सालमा जनमत संग्रहको घोषणा भएसंगै विपी कोइराला पोखरा विमानस्थलमा ओर्लन खोज्दा तत्कालीन पञ्चहरुको अवरोधलाई चिर्न कांग्रेसको विशाल आमसभा आयोजना गरेको थियो । उनको मस्तिष्कमा ताजै रहेको “कानुनभन्दा माथि राजा कदापि हुन सक्दैनन्, प्रजातन्त्र र मुलुकका लागि बहुदलीय शासन व्यवस्था नै चाहिन्छ ।”, भाषणका क्रममा विपीले भनेको ती शब्दले उनको कलिलो मस्तिष्कमा गहिरो छाप पारेको थियो ।

बाराही माविमा पढ्दा नेपाल विद्यार्थी संघको एकाइमा रहेर काम गरेका उनले वि.स. २०४२ मा उनले कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए । २०४२ सालमै पोखरा नगर पञ्चायतमा प्रमुख र उपप्रमुखमा जनपक्षीय उम्मेदवार केशवराज पराजुली र तीर्थ श्रेष्ठलाई जिताउन उनी सहितका युवाहरुको क्रियाशीलता लोभलाग्दो थियो । वि.स. २०४६ को जनआन्दोलनमा पूरै खटिएका उनी तत्कालीन समयमा पञ्चायतका पक्षधरहरूले जागिरको प्रलोभन देखाउँदा पनि प्रजातन्त्रका पक्षमा आफूलाई उभ्याएर देश र जनताको सेवा गर्ने उद्देश्यका साथ राजनीति नै रोजेका माधव यतिवेला जनताको सेवा गर्ने अवसरको लागि चुनावी मैदानमा होमिएका छन् ।

प्रजातन्त्रको पुनःस्थापना पछि वडा तहबाटै संगठन विस्तारमा लागेका उनी २०४९ सालमा पोखरा ११ को नेपाली कांग्रेसको वडा सभापतिमा चिर्वाचित भएका थिए ।

पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्दै तालतलैया र नदीको संरक्षण गर्ने तथा पोखरालाई केन्द्रमा राखेर धार्मिक पर्यटन करिडोर निर्माण गर्ने लक्ष्य बोकेका उनले पोखरालाई गण्डकी प्रदेशको मात्र नभई देशकै शिक्षा र स्वास्थ्यको ‘हब’ बनाउने योजना सुनाउँदै मतदातासंग भलाकुसारी गरिहेका छन् । युवा स्वरोजगारलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने बास्तोलाले विदेशिएका युवालाई स्वदेश फर्काउन मुलुकभित्रै शिक्षा र रोजगारीको उत्कृष्ट अवसर सिर्जना गर्ने तथा सरकारी सेवा प्रवाहमा रहेको झन्झट र भ्रष्टाचार अन्त्य गर्ने उनको अठोट छ ।

कांग्रेस कमजोर हुँदा राष्ट्रियता कमजोर भएको कुरालाई आफूहरूले पटकपटक देख्दै र भोग्दै आएको बताउँदै उनले निर्वाचन मार्फत कांग्रेसलाई बलियो बनाउनुुपर्ने अवस्था आएको बताए । मतदाता भेटघाटका क्रममा उनले आफ्नो क्षेत्रका मतदातासँग स्थानिय समस्या बुझ्‌दै उनीहको अपेक्षा सहित सुझाव संकलन समेत गरिरहेका छन् ।

Scroll to Top