आदर्श कपः होराइजन र नेपाल प्रहरी उपाधिको लागि भिड्ने

पोखरा । होराइजन क्लब स्याङ्जा र नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६औँ आदर्श कप फुटबल प्रतियोगितामा उपाधिको लागि भिड्ने भएको छ ।

कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत आज (बुधबार) सम्पन्न सेमिफाइनल खेलमा होराइजन क्लब स्याङ्जाले जिल्ला खेलकुद विकास समिति म्याग्दीको टोलीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यसअघि मंगलबार भएको अर्को सेमिफाइनल खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशको टोलीले तनहुँ जिल्ला फुटबल विकास समितिको टोलीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो ।

अब माघ १६ गते दिउँसो १ बजे हुने फाइनल खेलमा होराइजन क्लब स्याङ्जा र नेपाल प्रहरी गण्डकी प्रदेशबीच उपाधिका लागि आमनेसामने हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख ९९ हजार ९९९ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३ लाख ३३ हजार ३३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

बुधबारको सेमिफाइनल खेलमा होराइजन क्लब स्याङ्जाका टिकाराज गुरुङले खेलको ७३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गरेका गुरुङ ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए।

Exit mobile version