पोखरा । १४ औँ पोखरा महोत्सव सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
गत पुस २९ देखि माघ ११ गतेसम्म अमरसिंह चौरमा सञ्चालित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरे।
समापन समारोहमा मेयर आचार्यले पोखरा महोत्सवलाई पोखराकै उत्कृष्ट तथा पृथक महोत्सवको रूपमा उल्लेख गर्दै महानगरको रातो किताबमै राखेर निरन्तर अगाडि बढाइरहेको बताए। उनले महोत्सवमार्फत पोखरा–२७ मा निर्माणाधीन युनाईटेड छात्रावासका लागि महानगरको साथ र सहयोग रहने प्रतिबद्धता जनाए।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, वडा अध्यक्षहरू तथा विभिन्न अतिथिहरूले युनाईटेड क्लबले महोत्सवमार्फत शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे।
युनाईटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले दर्शक, प्रायोजक र सहयोगी संस्थाको साथकै कारण महोत्सव सफल भएको बताए। १३ दिनसम्म चलेको महोत्सवमा करिब २ लाख ५० हजार दर्शकको सहभागिता रहेको र ९ करोड रुपैयाँभन्दा बढी कारोबार भएको आयोजकले जनाएको छ।
