–विद्यालय स्तरीय लोकनृत्यको उपाधि कास्की मोडर्नाइज्डलाई
पोखरा । अमरसिंह चौरमा जारी पोखरा महोत्सव मेला मात्र होईन, यो एउटा ब्रान्ड बनिसकेको छ । युनाइटेड क्लबले हरेक वर्ष यसै समयमा नियमित रूपमा आयोजना गर्दै आएको यस महोत्सवले दर्शकको निरन्तर साथ पाउँदै आएको छ।
१३ दिनसम्म सञ्चालन हुने महोत्सवमा हरेक रात ख्यातिप्राप्त कलाकार र ब्याण्डको प्रस्तुती हुने भएकाले युवापुस्तामाझ यसको लोकप्रियता बढ्दै गएको आयोजकको भनाइ छ।
महोत्सवमार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन तथा सेती नदी संरक्षणजस्ता सामाजिक कार्य हुँदै आएका छन् ।
यसैबीच १४औँ पोखरा महोत्सव अन्तर्गत गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि कास्की मोडर्नाइज्ड स्कुलले जितेको छ।
सूर्योदय बोर्डिङ स्कुल दोस्रो र शोसल पब्लिक स्कुल तेस्रो भएका छन् भने अञ्जुली बोर्डिङ स्कुल, अमरसिंह मावि र विभूति शिक्षा सदनले सान्त्वना स्थान हासिल गरेका छन्।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र शान्तवना स्थान हाँसिल गर्ने तीन समुहले क्रमश नगद ५०, ३५, २५ र १५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमा उपाध्यक्ष गोरे गुरुङ, निवर्तमान सदस्य सचिव मन कुमार श्रेष्ठ, नृत्य निर्देशक द्वय माधव गुरुङ र राहुल थापाले निर्णायकको भूमिका निभाएका थिए ।
महोत्सव समापन नजिकिँदै जाँदा दर्शकको भीड बढ्दै गएको छ भने स्टलहरूमा कारोबारसमेत उल्लेख्य रूपमा वृद्धि भएको आयोजकले जनाएको छ्न ।
महोत्सवको अन्तिम दिन माघ ११ गते चोलेन्द्र पौडेल, मन्जु बिक, प्रकाश बराल, नेत्र खड्का, गंगा पौडेल, मुना राना मगर, नवराज अधिकारी लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्टमा पर्पलेको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
समापन समारोह अपराह्न ३ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नेछन् ।
