
काठमाडौं । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले शानदार जित निकालेको छ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै आर्मी क्लबले शानदार जित निकालेको हो।
आर्मीको जितमा निराजन धामीले खेलको ३४ औँ र ७७ औँ मिनेटमा दुई गोल गरे। त्यस्तै नवीन लामाले खेलको १५ औँ मिनेटमा, नवयुग श्रेष्ठले ६७ औँ मिनेटमा गोल गरे भने जिलेस्पीजंग कार्कीले आर्मीका लागि दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए। सहज जीतसँगै आर्मीले तीन अंक जोडेको छ।
त्यसअघि शनिबार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङ फुटबल क्लबले राष्ट्रिय नव जनजागृति युवा क्लबलाई २–१ ले पराजित गर्यो।
एन्फाको आयोजनामा बुधबारदेखि सुरु भएको लिगमा १७ टिमको सहभागिता रहेको छ







