मिस तामाङको तयारी पुरा,ग्राण्ड फिनाले शनिबार

पोखरा । तामाङ समुदायको भाषा, संस्कृति र पहिचान प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको मिस तामाङ पोखरा–२०२६ को सम्पूर्ण तयारी पूरा भएको छ।

बैदाम तामाङ सेवा समाजको आयोजनामा सम्पन्न हुन लागेको प्रतियोगिताको ग्राण्ड फिनाले माघ ३ गते शनिबार पोखरा इभेन्ट सेन्टर, बुलौदी लेकसाइडमा आयोजना हुँदैछ। प्रतियोगितामा ८ जना युवती सहभागी छन्, जसले सौन्दर्यसँगै क्षमता, आत्मविश्वास, संस्कृति र नेतृत्व प्रस्तुत गर्नेछन्।

आयोजकका अनुसार प्रतियोगीहरूलाई बोल्ने कला, महिला सशक्तीकरण, तामाङ भाषा, संस्कार तथा संस्कृति, साइबर सुरक्षा, महिला अधिकार, सेल्फ डिफेन्स, स्टेज प्रस्तुति र कोरियोग्राफीलगायत विषयमा विभिन्न क्षेत्रका विज्ञ तथा ख्यातिप्राप्त व्यक्तित्वहरूबाट तालिम प्रदान गरिसकिएको छ।

कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङले प्रतियोगितामार्फत युवतीहरूको आत्मविश्वास र नेतृत्व क्षमता विकास भएको बताउँदै ग्राण्ड फिनालेका लागि सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् ।

समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखरा प्रतियोगिता सौन्दर्य प्रतियोगिताभन्दा फरक, पहिचान र सशक्तीकरणको अभियान भएको उल्लेख गर्दै सफल आयोजनाका लागि सबै पक्ष तयार रहेको बताए ।

ग्राण्ड फिनाले कार्यक्रममा कलाकारहरू बुद्धी तामाङ, दिनेश डिसी, फुलकुमार बोम्जन, विवेक दोङ र सन्तोष बस्याललगायतको विशेष प्रस्तुति रहनेछ । कार्यक्रम नेपाल सरकारका निवर्तमान ऊर्जा मन्त्री तथा ‘उज्यालो नायक’ कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछिन् भने फस्ट रनरअप, सेकेन्ड रनरअप तथा भ्युअर्स च्वाइसतर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

Exit mobile version