पिएन क्याम्पस स्ववियुमा तालाबन्दी: आर्थिक अपारदर्शिताको आरोप, स्ववियुको खण्डन

पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा आर्थिक अपारदर्शिताको आरोप लगाउँदै तालाबन्दी गरिएको छ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट निर्वाचित स्ववियु सदस्य विवेक तिमल्सिनाले सोमबार स्ववियु कार्यालयमा तालाबन्दी गरेका हुन्।

तिमल्सिनाले स्ववियु नेतृत्वले आर्थिक कारोबार अपारदर्शी बनाएको, अल्पमतको आवाज दबाएको र निर्णय प्रक्रियामा एकाधिकार जमाएको आरोप लगाएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा आर्थिक अपचलनबारे प्रश्न उठाउँदा उल्टै धम्की दिने गरिएको उल्लेख गर्दै क्याम्पस प्रशासनद्वारा निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेका छन्।

यता, एमाले निकट अनेरास्ववियुको नेतृत्वमा रहेको स्ववियुले भने यी आरोपहरूलाई पूर्णतः अस्वीकार गरेको छ।

स्ववियु सभापति विष्णु पोखरेलको नेतृत्वले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण आर्थिक गतिविधि त्रिभुवन विश्वविद्यालयको नियम र क्याम्पस प्रशासनको आर्थिक नियमावली अनुसार नै भइरहेको स्पष्ट पारेको छ।

स्ववियुले वर्ष दिनभित्र साधारण सभामार्फत आर्थिक विवरण सार्वजनिक गर्ने र लेखापरीक्षण नभई रकम निकासा नहुने कानुनी प्रावधान रहेको स्मरण गराउँदै पारदर्शितामा आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

Exit mobile version