पोखरा र पूर्वी सहर विराटनगरबीच सिधा हवाई उडान सुरु गर्न पुनः पहल भएको छ । तर यो पहल भने विमान कम्पनीबीच नभई गण्डकी र कोशी प्रदेशका सचिवबीच थालिने प्रयासमात्र हो ।
यसअघि पोखरा विराटनगरबीच हवाई सेवा सुरु गर्ने उद्देश्यले पर्यटन व्यवसायी र पत्रकारसहितको टोलीलाई अनौपचारिक उडान गरी सम्भावना खोजिएपनि त्यो असफल भएको थियो ।
पर्यटन प्रवर्धनमा आपसी साझेदारी गर्ने उद्देश्यका साथ गण्डकी र कोशी प्रदेशबीच औपचारिक समझदारीसँगै पुनः उडानको पहल गर्न २ प्रदेश सहकार्यमा जुट्ने भएका छन् ।
पर्यटकीय राजधानी पोखरामा आयोजित कार्यक्रममा २ प्रदेशले पर्यटन विकास, पूर्वाधार निर्माण, पहुँच विस्तार र संस्थागत सहकार्यलाई सुदृढ बनाउने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका निमित्त सचिव टीकाराम पौडेल र कोशी प्रदेशका सचिव डा. ईन्द्रप्रसाद सापकोटाले पर्यटकीय राजधानी पोखरामा समझदारी पत्रमा हस्ताक्षर हस्ताक्षर गरेका हुन् । यसअघि निजी क्षेत्र र सरोकारवालाको अनौपचारिक प्रयासबाट उडान सुरु गरिए पनि त्यो दिगो हुन सकेको थिएन।
सम्झौता अनुसार हवाई सेवाका साथै पोखरा र विराटनगरबीच पर्यटकीय बस सेवासमेत सञ्चालन गरिनेछ। दुवै प्रदेशले कर्मचारी र शिक्षकहरूलाई लक्षित गरी अन्तर-प्रदेश भ्रमणका लागि ‘इन्सेन्टिभ प्याकेज’ ल्याउने सहमति गरेका छन्।
यस्तै, गण्डकीका मुक्तिनाथ र मनकामना तथा कोशीका पाथीभरा र हलेसी जस्ता प्रसिद्ध तीर्थस्थललाई जोडेर ‘धार्मिक पर्यटन सर्किट’ निर्माण गरिने भएको छ।
योजना कार्यान्वयनका लागि दुवै प्रदेशका पर्यटन मन्त्रीको नेतृत्वमा समन्वय समिति समेत गठन गरिएको छ।
