पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने ‘१४ औं पोखरा महोत्सव’को सम्पूर्ण तयारी पूरा भएको छ।
आयोजक युनाइटेड क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै आगामी पुस २९ देखि माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी सकिएको जानकारी दिएको हो।
महोत्सवको मुख्य उद्देश्य सामाजिक सेवा रहेको क्लबले जनाएको छ। क्लबका महासचिव एवं महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारका अनुसार महोत्सवबाट संकलित रकम पोखरा–२७ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि आवासीय छात्रावास निर्माणमा खर्च गरिनेछ।
२० कोठाको भवन निर्माण गर्ने लक्ष्य राखिएकोमा हालसम्म ३ कोठा सम्पन्न भइसकेका छन्। यसै शैक्षिक सत्रदेखि छात्रावास सञ्चालनमा ल्याउने क्लबको योजना छ।
साथै, क्लबले विगत झैं यसपटक पनि प्रत्येक टिकटबाट १ रुपैयाँ सेती नदी संरक्षणका लागि छुट्याउने कार्यलाई निरन्तरता दिने भएको छ।
महोत्सवको मुख्य प्रायोजक ‘बेटर होम एप्लायन्सेस’ रहेको छ। महोत्सवमा सामान खरिद गर्ने ग्राहकले १ टनको एसी, वाटर डिस्पेन्सर, चिम्नी, भ्याकुम क्लिनर जस्ता आकर्षक उपहारहरू गोलाप्रथा (लक्की ड्र) मार्फत जित्न सक्नेछन्।
यस्तै, बन्दीपुर केबलकारले दैनिक ५ जनालाई निःशुल्क टिकट प्रदान गर्नेछ भने भिजन लिंक एजुकेशनले भाषा कक्षामा ५० प्रतिशत छुट र उपहारको व्यवस्था गरेको छ।
स्वास्थ्य सेवातर्फ मेडिप्लस हस्पिटलले प्राथमिक उपचार र कान्तिपुर डेन्टल हस्पिटलले निःशुल्क दाँत परीक्षणको व्यवस्था मिलाएका छन्।
होत्सवको उद्घाटन समारोहमा लोकप्रिय अभिनेताद्वय विपिन कार्की र विजय बरालको उपस्थिति रहनेछ। साथै, विश्व साइकल यात्री अजित बराल र पर्यटन प्रवर्द्धक मुना केसीलाई सम्मान गर्ने कार्यक्रम छ।
सांगीतिक क्षेत्रतर्फ चर्चित गायकहरू प्रकाश सपूत, बद्री पंगेनी, शान्तिश्री परियार, प्रमोद खरेल, अस्मिता अधिकारी लगायतका लोकदोहोरी कलाकार र लाइभ कन्सर्टतर्फ लाउरे, सविन राई, भिटेन, अनुप्रस्था जस्ता चर्चित ब्याण्डहरूको प्रस्तुति रहनेछ।
१३ दिनसम्म चल्ने महोत्सवमा २५० वटा स्टलहरू रहनेछन्। आयोजकले २ देखि २ लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरेको छ। महोत्सवमा शारीरिक अशक्त, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक, पत्रकार र पोसाक सहितका सुरक्षाकर्मीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
महोत्सवले गण्डकी प्रदेशको कला, संस्कृति, पर्यटन र औद्योगिक उत्पादनको प्रवर्द्धन गर्दै आर्थिक चलायमान बनाउने लक्ष्य लिएको छ। टिकट अनलाइनमार्फत ‘रेभल एप’ बाट पनि बुकिङ गर्न सकिनेछ।
