
दिपक के श्रेष्ठ
पोखराको न्यूरोडमा शानको साथ १ दशक अघिदेखि सञ्चालित छ, सिटिजन फर्निचर । जसले पोखरेलीलगायतका घर, होटललाई आवश्यक पर्ने सोफा, पलङ दराज, खाट, कुर्सी, टेबल र आन्तरिक सजावटका सामग्री पस्किरहेको छ ।
यसबीच, आम पोखरेलीको आवश्यकता पुरा गर्न दरिलो विश्वास लिएर व्यवसायमा होमिएका दिपक कार्की र सिटिजन फर्निचर वर्तमानमा एकअर्काका पर्याय बनेका छन् ।
स्थापनको १२ वर्षमा सिटिजनले कमाएको ग्राहक, पोखरेलीको विश्वाससँगै उनै दिपकको सफलता लोभलाग्दो त छ नै व्यापारमा लागेर निराशामात्र हात पारेकाकालागि आरिशलाग्दो पनि छ । व्यवसाय सुरु गर्नु, ग्राहकको विश्वास जित्नु र छोटो समयमै प्रगतिका पाइला झनै अघि बढ्नु, केवल भाग्यमात्र हैन, दिपकको लगाव र निर्णय गर्नसक्ने क्षमतासमेत उत्तिकै भागिदार छ ।
‘व्यापार गर्नु केवल लगानी गर्नु र मालिक पल्टिनुमात्र होइन’, दिपक भन्छन् ‘आफुले दिने वस्तुको गूणस्तर, उचित मुल्य र सहकार्य पनि हो ।’ बजारमा उस्तै प्रकृतिका वस्तु एवं सेवाहरु पाइने भएपनि सोही व्यवसायमा फरक प्रकृतिका उत्पादन दिन सक्नु नै सिटिजनको सफलता भएको उनी बताउँछन् ।
‘सिटिजनले सुरुवाति दिनदेखि नै फरक प्रकृतिका वस्तु एवं उत्पादनमा विश्वास गरेर अघि बढेको हो’ उनले भने ‘जसमा ग्राहकको आकर्षण र रुची दुबै हुन्छ ।’ त्यसो त पोखरेलीको माग, चाहना र उनीहरुको खर्च गर्ने क्षमतालाई नजिकबाट नियालेका उनले व्यवसायलाई सोही आकारमा बिस्तार गर्दै लगेका हुन् ।
सिटिजनले स्थापनाकालदेखि थोक र खुद्रा दुबै प्रकारका व्यापार सुरु गरेको हो । दशक बढीको व्यावासायिक यात्राका दौरान अहिले कम्पनीको छातामा फर्निशिङ, सप्लायर्स र इलेक्ट्रोनिक्सका शाखा रहेका छन् । २ जना स्टाफको सहयोगमा सुरु भएको व्यापारमा अहिले ५० जनाले सघाउँदैछन् । जहाँ, दिपकको खटाई उस्तै र निरन्तर छ, जस्तो सुरुको दिनमा हुने गथ्र्याे ।
यससँगै अहिले सिटिजनसँग आफ्नै मेटल र फर्निचरको उद्योग छ, जसले कम्पनीको गुणस्तरलाई कायम राखेको छ । शोरुममा उपलब्ध सामग्रीमध्ये थोरै हिस्सा चीन र भारतबाट ल्याइएका छन् भने बाँकी आफ्नै उद्योगमा उत्पादित रहेका छन् ।
पाल्पाका रैथाने दिपक सुरुमा बुटवल झरेका थिए । जहाँ व्यापारको धेरथोर अनुभव लिएपछि पोखरा आए । र, सुरु भएको हो, सिटिजन फर्निचर ट्रेड लिंक प्रालिको यात्रा । युवावस्थामा भर्खरै चढेको कुनै व्यक्ति एक दशकमै यति सफल कसरी हुनसक्छ ? प्रश्नको जवाफमा उनी भन्छन् ‘मैले कतै, कोहीबाट व्यापारको टिप्स लिएको छैन, मेरो व्यवसायको गुरु स्वयं मेरो आमा हुनुहुन्छ ।’
दिपकलाई सुनिरहँदा उनको दिमागमा व्यापार ८-९ वर्षकै उमेरमा छिरिसकेको थाहा भयो । उनले सुनाए ‘म ३ कक्षामा पढ्दा भैरवनाथको मन्दिरतिर काफल बेच्न जान्थे, जसमा आमाको प्रेरणा र हौसलाले डोर्याएको थियो ।’
काफल बेच्दा आएको पैसाले उनको अन्तरआत्मामा ‘लक्ष्मी’ चढिसकेको र आजको दिनको खाका पनि कोरिइसकेको थियो । असली अर्थमा भन्ने हो भने, आमा केवल आमामात्र नभएर व्यवसायको ‘विश्वविद्यालय’ भएको उनको ठहर छ । उनी भन्छन् ‘आमा नै व्यवसायको प्रेरणा हो ।’
सिटिजनको अर्काे विशेषता भनेको प्रत्येक आर्थिक वर्षको अन्त्यमा व्यवसायलाई थप नयाँ स्वरुपमा अघि बढाउनु हो । फलस्वरुप, सिटिजनको ब्राण्डमा अहिले विभिन्न कम्पनी थपिँदै गएका हुन् । ‘पैसा आवश्यक माध्यम हो तर व्यवसायीले सोंच र विश्वास भने आफैले जन्माउनु सक्नुपर्छ’ उनले सुनाए ।
समयको चाल बुझ्न नसके व्यापारमा पछि परिने सुनाउँदै उनले सोही अनुरुप डेकोेरेशनसम्बन्धित वस्तुदेखि कम्प्युटर र इलोक्ट्रोनिक्ससम्मको व्यापार सुरु गरेको जनाए । व्यवसायमा यदाकदा संकट नआउने होइन, उनी भन्छन् ‘संकट परीक्षा बनेर आएको हुन्छ, जहाँ निर्णय गर्नसक्ने क्षमताले व्यवसायीलाई पास गराउँछ ।’
संकटकै बेला खारिएकैकारण भूकम्प, कोभिड र मन्दीमा पनि सिटिजन सतिसाल झैं खडा भएको उनले सुनाए । साथै, पोखरा र पोखरेलीले आफुलाई र सिटिजनलाई गरेको विश्वासप्रति उनी नतमस्तक छन् । त्यसैले उनको अर्काे कर्म थपिएको छ, पाल्पासँगै पोखरालाई पनि गुन तिर्ने ।
सोही गुन तिर्न दिपकले विविध कार्यक्रम आयोजना गरी सामाजिक उत्तरदायित्व वहन गरिरहेका छन् । ‘हामीले लिएर जाने केही छैन, कमाएको यही छाडेर जाने हो । यसर्थ, खुकुलो हात ”जिम्मेवारी” पनि हो’, उनी केही धार्मिक सुनिए ।
त्यसो त सिटिजनको नामबाट पोखरामा आयोजना हुने विभिन्न कार्यक्रमले नै उनको भनाई पुष्टि गर्छ । पोखरेलीले न्यूरोडमा हेर्दै आएको भैरव नृत्य, पाल्पाको लाखे नाच अनि चाख्दै आएको पाल्पाली रोट, चुकाउनी र बटुकमा सिटिजनको आत्मीयता र आतीथ्यताको स्वाद आउँछ ।
हालै सम्पन्न नेपाल प्रिमियर लीगलाई सडकमै ठूलो स्क्रिनमा देखाएको सिटिजनको सहयोग खेल क्षेत्रमा पनि उत्तिकै छ भने पोखरामा देखिने रगतको अभाव पुरा गर्न रक्तदान कार्यक्रमको आयोजना गरेको बायोडाटा सिटिजनसँग छ ।
त्यस्तै, पाल्पाको भैरवस्थान मन्दिरमा हालै ५ सय ५५ किलोको घण्टी चढाइएको छ भने मानवसेवा आश्रममा एउटा कोठा निर्माण गर्न ५ लाख ५० हजार ५५५ रुपैयाँ सहयोग गरिएको छ । पोखरा चिनाउने धरोहरमध्येको पुम्दीकोट शिव मन्दिरलाई ११ लाख ११ हजार १११ रुपैयाँ पनि सिटिजनले सहयोग गरेको छ ।
कुराकानीको अन्त्यमा सोधियो ‘फुच्चे काफल व्यापारी आज सिटिजनको नाममा उम्दा व्यवसायी बनेको छ, अबको एक दशकपछि कस्तो स्वरुपमा भेटिएला ?’ उनको सहज उत्तर छ ‘यस्तै, आज देखेजस्तै, सहयोगी, सामान्य र कर्मशील ।’







