मुग्लिन–पोखरा सडक विस्तार: ७५ प्रतिशत काम सकिँदा तेस्रो पटक म्याद थप

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने–पोखरा) को म्याद तेस्रो पटक थप गरिएको छ।

दुई पटकसम्म म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि सडक विभागले आगामी २०८३ असार १५ गतेसम्मका लागि नयाँ समयसीमा तोकेको हो।

यसअघि थपिएको म्याद गत डिसेम्बर अन्त्यमा सकिएको थियो। योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार हालसम्म यस खण्डको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ। विद्युत् पोल स्थानान्तरण, खानेपानी पाइप व्यवस्थापन र रुख कटानमा भएको ढिलाइले गर्दा आयोजना ढिलो हुन पुगेको हो।

३८.८८ किलोमिटर लम्बाइ रहेको यो खण्डमा हालसम्म ३७ किमी पहिलो तहको र ३४ किमी दोस्रो तहको कालोपत्रे सम्पन्न भइसकेको छ।

चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनसँग ७ अर्ब ४० करोडमा ठेक्का सम्झौता भएको यो आयोजना एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेको हो।

बाँकी रहेको एक किलोमिटर एकतर्फी कालोपत्रे र रोड सेफ्टीका कामहरू अब थपिएको अवधिमा पुरा गर्ने लक्ष्य राखिएको छ।


Exit mobile version