पोखरामा विद्यालयको जग्गा व्यक्तिको नाममा: भूमि आयोगका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

santan ads

पोखरास्थित एक सामुदायिक विद्यालयको जग्गा नक्कली सुकुम्बासी खडा गरी व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन पदाधिकारी र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा १ करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको सरकारी जग्गा हिनामिना भएको ठहर गर्दै अख्तियारले आज मुद्दा चलाएको हो ।

मुद्दा दायर गरिएकाहरूमा भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल, तत्कालीन सदस्य एवं मालपोत अधिकृत रामचन्द्र अधिकारी, सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपाली रहेका छन् । यस्तै, गैरकानुनी लाभ लिने जग्गाधनीका श्रीमान् भीमबहादुर बि.क.लाई पनि प्रतिवादी बनाइएको छ ।

पोखरा महानगरपालिका–२६ स्थित अमर ज्योति आधारभूत विद्यालयको नाममा रहेको ३–३–०–० रोपनी जग्गा बदनियतपूर्वक भीमबहादुरकी श्रीमती सुकमाया कामीको नाममा दर्ता गरिएको अनुसन्धानबाट खुलेको छ ।

२०५२ सालको सुकुम्बासी आयोगको निर्णयलाई गलत व्याख्या गरी, अर्कै कित्ताको जग्गा दिनुपर्नेमा विद्यालयको बहुमूल्य जग्गा सुकुम्बासीको नाममा पुर्‍याइएको अख्तियारको दाबी छ ।

Scroll to Top