कास्की ३ मा नेकपाको उम्मेदवार को ? ससुरा र बुहारीमा कसले पाउला टिकट ?

santan ads

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी, कास्की क्षेत्र नम्बर ३ ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले प्रचण्डको नाम एक नम्बरमा राखेर जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो।

संयोजक प्रचण्डको जन्मस्थल समेत रहेको यस क्षेत्रमा उम्मेदवारीलाई लिएर रोचक प्रतिस्पर्धा देखिएको छ। प्रचण्डसँगै उनकी बुहारी सिर्जना त्रिपाठीले पनि सोही क्षेत्रबाट दाबेदारी प्रस्तुत गरेकी छिन्।

प्रकाश दाहालकी पत्नी सिर्जनाको माइती कास्की क्षेत्र नम्बर ३ कै हेमजा भएकाले उनी लामो समयदेखि यहाँको राजनीतिमा सक्रिय छिन्।

पार्टीको व्यवस्था अनुसार एक महिलासहित ५ जनाको नाम सिफारिस गर्नुपर्ने भए पनि कास्की–३ मा आकांक्षीहरूको संख्या धेरै भएपछि सहमति जुट्न सकेन। जसका कारण प्रचण्ड र सिर्जनासहित १५ जनाकै नाम जिल्ला कमिटीमा पठाइएको सचिवालयले जनाएको छ।

दाबेदारी प्रस्तुत गर्ने अन्य नेताहरूमा पूर्व प्रदेश सांसद रामजी बराल, संविधानसभा सदस्य दुर्गा विक, बलराम सुवेदी, भानु अधिकारी र भोजराज पौडेललगायत रहेका छन्। उम्मेदवारको अन्तिम टुंगो भने पार्टीको केन्द्रीय कमिटीले लगाउनेछ।

कास्की–३ अध्यक्ष प्रचण्डको जन्मस्थल हो। उनी अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा जन्मिएर पछि चितवन बसाइँसराइ गरेका थिए। अघिल्लो निर्वाचनमा पनि उनलाई आफ्नै जन्मथलोबाट चुनाव लड्न स्थानीय नेता–कार्यकर्ताले आग्रह गर्दै आएका थिए।

Scroll to Top