
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामी वा घाइतेलाई आर्थिक प्रलोभनमा परी निजी तथा महँगा अस्पताल पुर्याउने एम्बुलेन्सहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ विपरीत काम गर्ने एम्बुलेन्स चालक र सञ्चालकहरूमाथि कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको हो।
मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईका अनुसार आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवालाई प्रभावकारी, व्यवस्थित, मितव्ययी र सेवाग्राहीमैत्री बनाउन नयाँ निर्देशिका जारी गरिएको हो।
उक्त निर्देशिका अनुसार देशभरका सम्पूर्ण एम्बुलेन्सहरू अनिवार्य रूपमा प्रेषण केन्द्र (Dispatch Center) मा आबद्ध भई सञ्चालन हुनुपर्ने व्यवस्था गरिएको छ।
हाल केही एम्बुलेन्सहरूले एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा बिरामी प्रेषण (रिफर) गर्दा आर्थिक लोभमा परी बिरामीको इच्छा वा प्रेषण केन्द्रको निर्देशन बिना नै निजी र महँगा अस्पतालहरूमा लैजाने गरेको गुनासो मन्त्रालयमा प्राप्त भएको छ।
मन्त्रालयकी जनस्वास्थ्य प्रशासक बन्दना भट्टद्वारा जारी सूचनामा भनिएको छ, “अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य हो। यस्तो कार्य तत्काल बन्द गर्न अनुरोध गरिन्छ।”
मन्त्रालयले सम्पूर्ण एम्बुलेन्स चालकहरूलाई प्रेषण गरिएको (रिफर गरिएको) वा बिरामीले चाहेको स्वास्थ्य संस्थामै अनिवार्य रूपमा लैजान निर्देशन दिएको छ।
यदि कसैले निर्देशिका बमोजिमका प्रावधान पालना नगरेको वा आर्थिक लाभका लागि मापदण्ड विपरीत कार्य गरेको पाइएमा कडा कानुनी कारबाही गरिने व्यहोरा मन्त्रालयले जानकारी गराएको छ।








