कास्की प्रहरीले वृद्धाहरूलाई लछारपछार पारी कानको गहना लुट्ने एक गिरोहलाई पक्राउ गरेको छ।
माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाका विभिन्न स्थानमा एकै दिन दुई वृद्धालाई आक्रमण गरी गहना लुट्ने कार्यमा संलग्न तीन लुटेरासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने लुटेराहरूमा मादी गाउँपालिका–६ का २१ वर्षीय सुशील नेपाली, पोखरा–२३ का २७ वर्षीय आशिष नेपाली सुनार र १८ वर्षीय विजय पराजुली रहेका छन्।
यस्तै, लुटिएको गहना बिक्रीमा सघाउने आशिषकी श्रीमती २१ वर्षीया अस्मिता नेपाली र चोरीको सुन खरिद गर्ने पोखरा–१ स्थित मुक्तिनाथ सुनचाँदी पसलका सञ्चालक ५३ वर्षीय तुलबहादुर विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पुस १ गते दिउँसो ३:४५ बजे माछापुच्छ्रे–६ ठूलोकुनामा ८२ वर्षीया वृद्धालाई स्कुटरमा आएका तीन युवाले लछारपछार पार्दै कानको सुनको रिङ लुटेका थिए।
उक्त घटनाको मुचुल्का नसेकिँदै सोही टोलीले बेलुकी ४:४५ बजे पोखरा–१९ पुरनचौरमा ६५ वर्षीया अर्की महिलाको पनि कानको रिङ लुटेर फरार भएका थिए।
लगातार लुटपाटका घटना भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो।
प्रहरीले अभियुक्तहरूको साथबाट लुटपाटमा प्रयोग गरिएको ग ६ प ५१८२ नम्बरको स्कुटर बरामद गरेको छ।
आशिष नेपालीको कोठा खानतलासी गर्दा सिरानीमुनि लुकाएको २ थान सुनको रिङ, २ थान बाला र ६० हजार रुपैयाँ नगद फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
अनुसन्धानका क्रममा लुटिएको एक जोर रिङ तुलबहादुर विश्वकर्माको सुन पसलमा बिक्री गरेको खुलेको थियो। प्रहरीले उक्त पसलबाट रिङ पगालेर डल्लो पारिएको अवस्थामा २४ लाल ९ प्वाइन्ट सुन समेत बरामद गरेको छ।
पक्राउ परेका पाँचै जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट ‘चोरी तथा डाँका’ सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
