नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले शुक्रबार पदभार ग्रहण गरेकी छन्।
सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले आफ्नो पहिलो निर्णयका रूपमा ‘राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि–२०८२’ स्वीकृत गरेकी छन्।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री श्रेष्ठ सिंहदरबार पुगेकी थिइन्। मन्त्रालयमा उनलाई सचिव तथा अन्य कर्मचारीहरूले स्वागत गरेका थिए।
कुर्सी सम्हाल्नासाथ मन्त्री श्रेष्ठले लैङ्गिक समानता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको ‘राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि–२०८२’ सदर गरेकी हुन्।
उक्त कार्यविधि स्वीकृत गरेपछि प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले भनिन्, ‘सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्यवातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्न यो कार्यविधि ल्याइएको हो।’ यसले सरकारी कामकाजमा लैङ्गिक संवेदनशीलतालाई मूल प्रवाहीकरण गर्न सघाउ पुग्ने विश्वास लिइएको छ।
नवनियुक्त मन्त्री श्रेष्ठसँग प्रशासनिक क्षेत्रको अनुभव रहेको छ। उनी यसअघि नेपाल पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धकको पदमा कार्यरत थिइन्।
पर्यटन प्रवर्द्धन र व्यवस्थापनमा लामो अनुभव संगालेकी श्रेष्ठले अब महिला तथा बालबालिकाको क्षेत्रमा नीतिगत नेतृत्व गर्नेछिन्।







