सशस्त्र प्रहरी बलको पोसाक लगाएर मनोरञ्जनात्मक टिकटक र रिल्स बनाएको आरोपमा २१२ जना सशस्त्र प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले विभिन्न सामाजिक सञ्जालमा पोसाक प्रयोग गरेर भिडियो बनाई आचारसंहिताविपरीत काम गरेकाले कारबाही गरेको प्रवक्ता मनिष थापाले बताएका छन् ।
उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाई गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले आफ्ना कर्मचारीको सामाजिक सञ्जालका गतिविधिलाई अनुगमन गर्न प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरेको छ ।
त्यसक्रममा स्क्रीनिङमा परेकाहरुलाई कारबाही गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
