पत्रकार भरतलाई फोनिजको ‘निट पत्रकारिता पुरस्कार’

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत भएका छन् ।

पोखरा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेण्टल केयर प्रालिले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार कोइराला सम्मानित गरेको हो ।

पुरस्कार २५ हजार ५५५ रुपैयाँ रहेको छ । पुरस्कारका लागि डेण्टलले यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको छ ।

पत्रकार कोइराला समाधान मिडिया ग्रुप अन्तर्गतको समाधान न्यूज डटकमका सम्पादक हुन् । पुतलीबजार १३ स्याङ्जा स्थायी घर भएका पत्रकार कोइरालाले २०५९ वैशाख १ गते काठमाडौँमा रही अन्नपूर्ण पोस्टबाट पत्रकारिता यात्रा सुरु गरेका थिए ।

पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले लेकसिटी कलेज र भद्रकाली माविमा पत्रकारिता विषय पढाउँछन् । उनी सञ्चार र पत्रकारिता विषयको प्रशिक्षक पनि हुन् ।

नेपालस्थित अमेरिकी दूतावासमार्फत् सञ्चालित खोज समाचार लेखनवृत्तिमा गण्डकीबाट छनोट र नेपालभरबाट उत्कृष्ट ३ मा परेका पत्रकार कोइरालाले खोजपत्रकारिता केन्द्रबाट खोजपत्रकारिता तालिम ३ महिना र प्रेस काउन्सिल लगायत संस्थाबाट प्रदान गरिएको तालिम लिएका छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि परिषद सदस्य रहेका पत्रकार कोइराला संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् ।

उनले गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक भइ काम गरेका थिए ।

कोइराला यसअघि पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्काराबाट सम्मानीत भइसकेका छन् ।

Scroll to Top