लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा पोखरामा महिला सशक्तीकरणसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ।
सामुदायिक सेवा केन्द्र पोखरा–९ पृथ्वीचोक र रोटरी क्लब अफ पोखरा मिडटाउनको संयुक्त आयोजनामा केन्द्रको रजत वर्षको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले सञ्चार प्रविधिको विकाससँगै पछिल्लो समय लैंगिक हिंसाको स्वरूप फेरिएको बताइन्। प्रविधिले संसारलाई नजिक ल्याए पनि यसको दुरुपयोगले हिंसाका नयाँ रूपहरू देखा परेको उनको भनाइ छ।
‘विगतमा शारीरिक, मानसिक, राजनीतिक र आर्थिक रूपमा महिलामाथि हिंसा हुने गर्थ्यो,’ भण्डारीले भनिन्, ‘अहिले हिंसाको स्वरूप फेरिएर सामाजिक सञ्जालमार्फत सुटुक्क म्यासेज बक्समा आइपुगेको छ।’
उनले प्रविधिको प्रयोग गरी तस्बिर सार्वजनिक गरेर चरित्र हत्या गर्ने र तर्साउने प्रवृत्ति बढेको भन्दै पीडितले सोहीअनुसार कानुनी उपचार खोज्नुपर्ने सुझाव दिइन्।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराईले लैंगिक हिंसा न्यूनीकरणमा नेपाल प्रहरीले ‘शून्य सहनशीलता’को नीति अपनाएको बताए।
उनले जानेर वा नजानेर घरभित्रैबाट पनि हिंसा हुने गरेको सङ्केत गर्दै प्रहरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत पीडितका गुनासा सुनिरहेको जानकारी दिए। साथै, साइबर ब्युरो र मानव बेचबिखन ब्युरोमार्फत पनि हिंसाका घटनालाई सम्बोधन गरिरहेको उनले स्पष्ट पारे।
सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका निवर्तमान अध्यक्ष कमलबहादुर श्रेष्ठले केन्द्रले नेपाल प्रहरीसँगको सहकार्यमा समाजमा हुने विकृति र विसंगति न्यूनीकरणमा काम गरिरहेको बताए। उनले समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू निरन्तर भइरहेको जानकारी दिए।
कार्यक्रममा रोटरी क्लबका अध्यक्ष उपेन्द्र पौडेल र दुखाइ रोग विशेषज्ञ डा. हरि पौडेलले विषयवस्तुमाथि सहजीकरण गरेका थिए।
