टेनिस : युल र शिवालीलाई दोहोरो उपाधि, शिवालीले रचिन इतिहास

पोखरा । कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा युल हो जुङले श्रीलंकाका गानुका फर्नान्डोलाई रोमाञ्चक टाइब्रेकमा ६–२, ६–७(७) ले पराजित गर्दै उपाधि जिते । गल्र्स सिंगल्सतर्फ नेपालकी शिवाली गुरुङले ताइपेइकी के–ची सुलाई ६–२, ६–२ को सोझो सेटमा हराउँदै उपाधि हात पारिन् ।

डबल्सतर्फ पनि युल र शिवाली दुबै विजेता बने ।

ब्वाइज डबल्समा कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जित्यो ।

गल्र्स डबल्समा शिवाली गुरुङ र के–ची सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि चुमे ।

टुर्नामेन्ट डाइरेक्टर अजय विष्टका अनुसार पहिलो सर्किट शनिबार सम्पन्न भएसँगै दोस्रो सर्किटको क्वालिफायर राउन्ड शनिबारबाटै सुरु भइसकेको छ भने मुख्य खेलहरू सोमबारबाट सुरु हुनेछन् ।

शिवालीले रचिन् नयाँ इतिहास

नेपाली जुनियर टेनिस खेलाडी शिवाली गुरुङले सबैभन्दा कम उमेरमा आइटिएफ जे–३० प्रतियोगिता जित्ने नेपाली खेलाडी बनेर इतिहास रचेकी छन् ।

भर्खर १४ वर्षमा प्रवेश गरेकी शिवालीले पहिलो पटक सिंगल्स र डबल्समा दोहोरो उपाधि जित्दै ३७ अंकसमेत प्राप्त गरेकी छन् । उनी अर्को महिना अस्ट्रेलियामा आयोजना हुने ग्राण्डस्लाम अस्ट्रेलियन ओपन इलाइट ट्रफी २०२६ मा सहभागी हुने पहिलो नेपाली खेलाडीसमेत बन्नेछिन ।

Exit mobile version