‘आजैदेखि लागौं: पाठेघरको मुखको क्यान्सर निवारण गरौं’ भन्ने नाराका साथ आज विश्वभर तथा देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइदै छ ।
यसै सन्दर्भम स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा मदनकुमार उपाध्यायले पाठेघरको मुखको क्यान्सर रोग निवारण गर्न किशोरीहरूलाई एचपिभी खोप लगाउने वातावरण तय गरेको जनाएका छन् ।
त्यस्तै, ३० बर्ष पुगेका महिलाहरूले पाठेघरको मुखको नियमित जाँच गराउने र यो रोग पहिचान भएका महिलाहरूले उपचार गराउने रणनीति लिएको डा उपाध्यायले भनेका छन् ।
सन् २०३० सम्म यो रोगलाई निवारण गर्ने लक्ष्यमा पुग्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय खोप तालिकामा एचपिभी खोप समावेश गरेर कक्षा ६का छात्राहरू र विद्यालय नजाने १० वर्षका किशोरीहरुलाई नियमित खोप दिने कार्य गत वर्षदेखि नै देशभरी सुरू गरेको छ।
यो खोप सेवा हरेक वर्ष फागुन महिनामा देशैभरी उपलब्ध हुन्छ ।
‘पाठेघरको मुखको परीक्षण सेवा सबै स्थानीय तहरूमा उपलब्ध गराउने गरी सङ्घीय तहबाट बजेट विनियोजन गरिएको हुँदा अस्पताल तथा स्वास्थ्य शिविरहरूबाट लक्षित महिलाहरूले यो सेवा लिनु हुन सम्बन्धित सबैमा अनुरोध गर्दछु’, महाशाखाले भनेको छ ।
पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्न सकेमा उपचारबाट निको हुन्छ।त्यसैले यो रोगको पहिचान भएका महिलाले क्यान्सर अस्पताल वा यस प्रकारको सेवा उपलब्ध हुने अस्पतालबाट उपचार गराउनु हुनसमेत अपील गरिएको छ ।
पाठेघरको मुखको क्यान्सरबारे अझैपनि समुदायस्तरसम्म पर्याप्त जनचेतना पुगि नसकेको भन्दै शाखाले समुदायस्तरमा जानकारी गराएर समयमै रोगको पहिचान गरी उपचार गराउनस्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायतलाई निर्देशन दिएको छ ।
