गण्डकी विश्वविद्यालय (जीयू)को कार्यवाहक उपकूलपतिमा डा. कैलाश तिमिल्सिना नियुक्त भएका छन्।
विश्वविद्यालयको प्रारम्भिक चरणदेखि संस्थापक रजिष्ट्रारको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका डा. तिमिल्सिनाले हालै संशोधित गण्डकी विश्वविद्यालय ऐनअनुसार गठित बोर्ड अफ ट्रस्टीका सचिवको जिम्मेवारी पनि समाल्नेछन्।
डा. तिमिल्सिनाले थाइल्याण्डको प्रतिष्ठित महिडोल विश्वविद्यालयबाट जनसांख्यिकीमा पीएचडी तथा अमेरिकाको मियामी विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्। ४० वर्ष नपुग्दै उपकुलपति पदमा नियुक्त हुने उनी सम्भवतः नेपालको इतिहासमै सबैभन्दा कान्छा उपकुलपति हुन्।
शैक्षिक नेतृत्वसँगै डा. तिमिल्सिना राष्ट्रिय दैनिकहरूमा शिक्षा, सुशासन, भ्रष्टाचार, तथा सामाजिक विषयमा धारदार लेख लेख्ने लेखकका रूपमा पनि परिचित छन्। उनका विचारहरू प्रतिष्ठित माध्यममा नियमित रूपमा प्रकाशित हुँदै आएका छन्।
उनको कार्यकालको प्रमुख प्राथमिकता गण्डकी विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गर्नु रहेको छ।
दीर्घकालीन शैक्षिक दृष्टिकोण, पारदर्शी प्रशासन, र गुणस्तरीय कार्यक्रममार्फत विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य उनले लिएका छन्।
