
निजी अस्पतालमा कार्यरत नर्सहरुले सरकारीसरह तलब, भत्ताको माग गर्दै सुरु गरेको आन्दोलनले अझै निकास नपाइरहेकाबेला प्रयोगशालामा कार्यरत प्राविधिकहरु पनि आन्दोलित भएका छन् ।
मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)ले स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई उनकै कार्यकक्षमा भेटेर यस विषयमा ध्यानाकर्षण गराएका छन् ।
मेलानले सोही क्रममा स्वास्थ्यमन्त्री शर्मासमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् ।
ज्ञापनपत्रमा निजी तथा सामुदायीक क्षेत्रमा कार्यरत प्रयोगशाला जनशक्तिहरुलाई नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक र जोखिम भत्ता लगायत का सेवा सुबिधा उपलब्ध गराउनु पर्ने, पेसागत सुरक्षाको सुनिश्चितता गर्नु पर्ने उल्लेख छ ।
त्यस्तै, पत्रमा सरकारी क्षेत्रका प्रयोगशालामा करार, अस्थायी र ज्यालादारीमा कार्यरत प्रयोगशालाकर्मीलाई स्थायी सरह नेपाल सरकारले तोके बमोजिमको जोखिम भत्ता दिनु पर्ने, प्रयोगशाला दर्ता प्रकृयामा रहेका अव्यवहारिक र अवैज्ञानिक मापदण्ड र प्रावधान संशोधन गर्नुपर्ने उल्लेख छ ।
यसैगरी,स्वास्थ्य प्रयोगशाला क्षेत्रको सुदृढीकरण र पेसाकर्मी हरुको पेसागत हकहित र सुरक्षा, र आम जनतालाई गुणस्तरीय सेवाको प्रत्याभुती दिनेजस्ता विषयमा ज्ञापनपत्रमा समेटिएको मेलानका अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।
पत्र बुझ्दै मन्त्री शर्माले तत्कालै अध्ययन गरी माग सम्बोधन गर्ने वचन दिएको जनाउँदै अध्यक्ष खड्काले यस विषयमा मेलानले निरन्तर खबरदारी गर्ने बताएका छन् ।







